
काठमाडौं–काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शीतल थोकर र रसिक राजद्धारा निर्देशित नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ आज अन्तिम दिनको रुपमा मञ्चन जारी रहने भएको छ ।
साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको यो नाटक नाटक दिउँसो १ बजे र साँझ ५ बजे दुई पटक मञ्चन हुने निर्देशक थोकरले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ ।
सर्वनामको १९ औँ ब्याचका विद्यार्थीहरुको प्रस्तुती यो नाटक महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको थोकरले बताउनुभयो । नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ ।
मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिन्ती महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ । अभिनय,बिम्ब,प्रयुक्त प्रप्स,प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।
नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ ।
नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्नुहुन्छ ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ १ नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक ।’
नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत,निर्मला घिसिङको स्वर,एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ ।
नाटकमा रसिक राज, शीतल थोकर,सुरज पराजुली,आकाश झा,वाइएस पौडेल,बिल बहादुर विक,सुरज अधिकारी, सरस्वती दाहाल,आरुष जंग सारू मगर,शू गूँ,एलिसा तामाङ,युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।
नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला,गीत सङ्गीत र नृत्यको कुशल संयोजन रहेको नाटक आइतबार दुई पटक मञ्चन हुने भएको हो ।