काभ्रे–नेवार समुदायले मंगलबार योमरी पुन्हि मनाएका छन् । हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा(पहिलो पूर्णिमा) अर्थात धान्य पूर्णिमाको दिन योमरी पुन्हि पूजा,आफन्तजन भेटघाट,शुभकामना आदानप्रदानका साथ मिष्ठान्न परिकार योमरी खाएर मनाएका हुन् ।

यो समुदायको विशेष पर्व योमरी पुन्हिको अवसरमा धुलिखेलमा योमरी जात्रा नै आयोजना गरिएको छ । स्थानीय लाछि महिला समूहले यहाँको नारायनथान लाछि डबलीमा जात्रा आयोजना गरेको हो ।

भिडियो पनि हेर्नुहोस् :

समूहकी अध्यक्ष दिवा व्याञ्जू श्रेष्ठले जात्रामा विभिन्न प्रकारका योमरीका परिकारहरु तथा अन्य नेवारी परिकारहरुको फुड स्टलहरुका साथै नेवारी कला संस्कृति झल्कने विभिन्न साँस्कृतिक नृत्य,झाँकी तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको बताउनुभयो ।

स्थानीय कला संस्कृति प्रवद्र्धनका साथै यस खालको मौलिक परिकारको संरक्षण,व्यवासयिक विकास मार्फत आर्थिक सशक्तिकरण तथा पर्यटन प्रवद्र्धन हुने अपेक्षासहित जात्रा आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

जात्रा अवलोकनका लागि आउनुभएका पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री,वर्तमान प्रतिनिधि सभा सदस्य गोकुल बांस्कोटाले सांस्कृतिक महत्वको योमरी पुन्हिको अवसरमा सम्पूर्ण नेवार समुदायमा शुभकामना व्यक्त गर्नुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले पनि शभकामना व्यक्त गर्नुहुदै यस खालको कार्यक्रमले स्थानीय संस्कृति,मौलिक परिकारको संरक्षण र विकासका साथै यसको माध्यामबाट सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धुलिखेल नगरपालिकाको मुख्य सहयोगमा भएको जात्राको धुलिखेलका साथै बनेपा,पनौती,नमोवुद्ध,पाँचखाल लगायतका हजारौंले अवलोकन गरेका छन् ।

जात्रामा सहभागिहरुले नेवारी परिकार योमरीका साथै अन्य मौलिक परिकारहरुको समेत स्वाद लिन पाएका छन् ।

योमरी पुन्हिको यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने चलन रहेको छ । स्वास्थ्यको दृष्टिले निकै पोषणयुक्त मानिएको यो परिकार नेवार आदिवासी समुदायको मौलिक परिकार मानिन्छ । यसको सांस्कृतिक महत्व समेत देखिन्छ ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो ।

यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर यस् मरि पुन्ही मनाउने चलन छ ।

यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यस् मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस !