के छन् नवनिर्वाचित अध्यक्ष मोक्तानको प्रतिवद्धता ?
काठमाडौं–तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तानले जिम्मेवारी पाउनुभएको छ । संघको शनिबार सम्पन्न १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनले सर्वसम्मत रुपमा मोक्तानलाई नेतृत्वमा चयन गरेको हो ।
महाधिवेशन बन्दसत्रबाट वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ,उपाध्यक्षमा अमर लामा र विनायक तामाङ तथा महिला उपाध्यक्षमा सुनिता लुङबा चयन हुनुभएको छ ।
संघको महासचिवमा ऋतुराज पाख्रिन,सचिवमा उतर लामा (संगुल),कोषाध्यक्षमा पुनः जोगलाल लामा,सह कोषाध्यक्षमा सुनिता दोङ पनि सर्वसम्मत निर्वाचित हुनुभयो ।
सदस्यहरुमा मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ रहनुभएको छ । कार्यसमितिमा अन्य ६ जना भने मनोनित गर्ने जनाइएको छ ।
महाधिवेशनबाट निवर्तमान कार्यसमिति उपाध्यक्ष भुइसाल लामा,निर्देशक विनय दोङ र वरिष्ठ नायिका चाँदनी मोक्तानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
पुनः अध्यक्षको जिम्मेवारी पाउनुभएका मोक्तानले तामाङ चलचित्रकर्मीहरुको एकतामा जोड दिनुभयो । सबै कलाकारहरुको एकताबाट नै कलाकार र कला क्षेत्रको विकास हुने भन्दै उहाँले सबै कलाकारहरुलाई एकै थलोमा भेला गराउने योजना रहेको बताउनुभयो ।
उहाँले संघ भेगीय भाषिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने सबै कलाकारहरुको साझा संस्थाको रुपमा अढि बढ्ने पनि बताउनुभयो ।
तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा दिइदै आएको स्व. जयनन्द लामाको सम्मानमा स्थापित सेमरी छोरङान अवार्ड,टिएफआर सम्मानलाई थप व्यवस्थीत र विस्तारित रुपमा लैजाने उहाँको भनाई छ ।
कलाकारहरुलाई आफ्नो पेसामा अझ उत्साहित बनाउन अवार्डले महत्वपूर्ण भुमिका खेल्ने भन्दै उहाँले तामाङ कलाकारहरु पनि अन्तराष्ट्रिय फोरमहरुमा पुग्ने अवस्थाको सृजना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष मोक्तानले तामाङ चलचित्र संघले स्थानीय सरकार,बागमती प्रदेश सरकार,विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने सोच बनाएको पनि उल्लेख गर्नुभयो ।
खुल्ला सत्र अन्तर्गत उद्घाटन समारोह चलेको थियो भने बन्दसत्रले महासचिव सुनिता लुङबाद्वारा प्रस्तुत सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष जोगलाल लामाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेेको हो ।
तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यवसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवद्र्धनमा क्रियाशिल तामाङ चलचित्र संघको महाधिवेशनको बागमती प्रदेशका पूर्वसभामुख तथा प्रदेशसभा सदस्य राधिका तामाङले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले बागमती प्रदेश सभा तथा सरकारले तामाङ,नेवा भाषा र लिपीलाई सरकारी कामकाजी भाषा र लिपीको रुपमा पास गरेर अघि बढाएको भन्दै यसको सफल कार्यन्वयनका लागि कलाकार,पत्रकारले पनि उत्तिकै खवरदारी र जागरणको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्य अतिथिहरुले तामाङ भाषा,संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तामाङ चलचित्र,कलाकारले आजसम्म गरेको कामको समिक्षा गर्दै थप उपलब्धी हाँसील गर्नतर्फ अघि बढ्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङ,तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल,तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन,म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ,तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।