शिक्षा तथा सामाजिक कार्यका लागि अक्षयकोष निर्माण

काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं. १० चण्डेनि मण्डन स्थित उमा शह शिक्षालय माविबाट २०६४ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान तथा विद्यार्थीहरुको लागि जाडोमा लगाउने सुइटर वितरण गरेका छन् ।

विद्यालयका सबै विद्यार्थीहरुलाई पुग्ने गरी आइतबार एक कार्यक्रमका बीच २६० थान सुइटर वितरण गरिएको उक्त विद्यालयबाट २०६४ सालमा एसएलसी दिएका हाल वडा अध्यक्ष समेत रहनुभएका पूर्व विद्यार्थी कुमार मोक्तान तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘सुइटर खरिद गर्न देश भित्र तथा बाहिर बस्दै आएका उक्त ब्याचका हामीहरु मिलेर आर्थिक सहयोग संकलन गरेको थियौं,जाडोमा बालबालिकाहरुसँग न्यानो बाँड्यौं,आफ्ना गुरुहरुलाई सम्मान गर्यौं ।’

आफूहरुले एसएलसी दिएको बखत कार्यरत प्रधानाध्यापक,शिक्षक र कर्मचारीहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको उहाँले बताउनुभयो ।

शिक्षा तथा सामाजिक कार्यका लागि अक्षयकोष : यस अभियानमा जोड्न सबैमा अनुरोध

वडा अध्यक्ष एवं पूर्व विद्यार्थी तामाङका अनुसार उक्त ब्याचका विद्यार्थीहरु मिलेर भविश्यमा पनि शिक्षा र अन्य सामाजिक कार्यहरु गर्ने गरी आर्थिक कोष निर्माण गर्ने योजना अघि सारिएको छ । अन्य महानुभावहरुलाई पनि यस अभियानमा जोड्न उहाँले अनुरोध गर्नुभयो ।

मण्डन देउपुर १० को वडा शिक्षा समितिले वडाभित्र रहेका ६ वटै विद्यालयका विद्यार्थीहरुलाई सुइटर वितरण गर्ने योजना अनुसार वडा शिक्षा समिति र ६ वटै विद्यालय परिवारले सहयोगका लागि सबैमा अनुरोध गरेका थिए ।

गत तिहारमा ६ वटा विद्यालयको आयोजना र वडा शिक्षा समितिको संयोजनमा सामुहिक देउसी भैलो कार्यक्रमबाट करिव चार लाख पैंतालिस हजार भएकोमा पछि थप हुने गरी सहयोग संकलन भएको थियो ।

उक्त रकम मध्ये वडा शिक्षा समिति,जनप्रतिनिधि,६ वटै विद्यालय,विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक तथा अन्य सामाजिक व्यक्तिहरुको संयुक्त निर्णयवाट २ लाख ५० हजारको अक्षय कोष निर्माण भइसकेको छ ।

बाँकी २ लाख रुपैयाँ रकमबाट विद्यार्थीहरुको लागि न्यानोकपडा,खेलकुद तथा वाध्यबादन सामाग्री खरिद गर्ने गर्ने निर्णय समेत गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भविश्यमा उक्त अक्षय कोषलाई १० लाख पुर्याउने र कोषको ब्याजबाट वडा भित्रका विध्यालयमा अध्ययनरत विध्यार्थीहरुका लागि अतिरिक्त कार्यक्रम सञ्चालन तथा असहायहरुलाई पढ्न सहयोग पुर्याउने निर्णय समेत गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !