रोशी–काभ्रेको रोशी गाउँपालिकाले सोमबार चौमासिक समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडाका सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए ।

चार महिनामा वडाले गरेको काम,आगामी दिनमा गर्ने काम,समस्या,चुनौती र सम्भावनाको बारेमा समिक्षा प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाको प्रत्येक शाखा प्रमुखहरूले पनि आफ्नो शाखाले गरेको काम,आगामी दिनमा गर्ने काम, समस्या,चुनौती र सम्भावनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले कती प्रगती भयो,कती प्रगती गर्न बाँकी छ र समस्या र चुनौती अनि सम्भावनालाई आँकलन गरेर आगामी योजना तयार पार्नको लागि समिक्षा गर्दै आएको बताउनुभयो ।

नागरिकलाई कसरी स्थानीय सरकारको अनुभूती गराउने सकिन्छ भन्ने कुराको मन्थन गर्नको लागि समिक्षा गरेको उहाँको भनाई छ । समिक्षाले रोशीका नागरिकलाई सहज सेवा प्रवाह गर्नको लागि मार्गनिर्देशन हुने उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले सेवाग्राहीलाई सहज सेवा दिने र केही कमजोरी भए सच्याएर अगाडी बढ्नको लागि समिक्षा कार्यक्रमको आयोजना गरेको बताउनुभयो । समयमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समिक्षाले सहयोग गर्ने तामाङको धारणा छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा,गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा,इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख पञ्चलाल गोले,वडाध्यक्षहरू,गाउँपालिकाका शाखाप्रमुखहरू सञ्चाकर्मीहरू र स्थानीयहरूको उपस्थिती थियो ।

गाउँपालिकाले हरेक ४ महिनामा गाउँपालिकाद्वारा सम्पन्न गरेको कामहरू र गतिविधिहरूको समिक्षा गर्दै आएकको प्रेस संयोजक इन्द्र थापाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !