खनालथोक –काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ खनालथोकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे अन्तरक्रिया गरिएको छ ।

माइती नेपालसंगको सहकार्यमा खनालथोक महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको अन्तरक्रियामा माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले पुस्ता,प्रविधी र समय अनुसार लैंगिक हिंसा र मानबबेचविखनका स्वरुपहरु फेरिएका तर्क गर्दै नियन्त्रणको लागि सबैको भूमिका उत्तिकै हुने तर्क गर्नुभयो ।

उहाँले लैंगिक हिंसाका विभिन्न स्वरुपहरु चर्चा गर्दै त्यसको बलमा भइरहेको मानवबेचविखनका विभिन्न स्वरुपबारे जानकारी लिनुभएको थियो ।

प्रमुख अतिथी रहेका नमोबुद्ध वडा नं ७ का अध्यक्ष एवं स्थानीय न्यायिक समिति नमोबुद्धका सदस्य धर्मसिं लामाले लैंगिक हिसा मानवताविरोधी कार्य भएको भन्दै नियन्त्रणको लागि अन्तर हृदयदेखि नै लाग्नुपर्ने बताउनुभयो । 

लैंगिक हिंसा नियन्त्रणको लागि तीनवटै तहका सरकारले कार्यक्रमसहित लगानी गरेको भन्दै व्यक्ति स्वंयम पनि सचेत र जागरुक हुन जरुरी रहेको बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष देवकी कोइराला खनालले हिंसाका स्वरुप अनेक रहेको भन्दै आर्थिक, राजनीतिक रुपमा महिला माथि हिंसा हुने गरेको चर्चा गर्नुभयो ।

सहकारी संस्थाका उपाध्यक्ष शर्मिला खनालले महिलालाई शारिरीक, मानसिक, आर्थिक रुपमा हिंसा हुने गरेको भन्दै त्यसलाई व्यक्त गर्न नसक्दा अन्य मानसिक समस्या आइरहेको बताउनुभयो ।

सहकारी संस्थाका आर्थिक संयोजक सिता काफ्ले खनालले आर्थिक उपार्जनमा कमजोर हुने कारणले महिला घरेलु हिंसामा पर्ने गरेको भन्दै ज्यान नै जाने स्थिती बन्न दिन नहुने तर्क गर्नुभयो ।

नगरपालिका समेतको सहयोगमा हिंसापीडित महिलाको लागि आश्रयस्थल (सेफ हाउस) सञ्चालन गरिरहेको सहकारी संस्थाले लैंगिक हिंसा न्युनिकरणका लागि यस खालको कार्यक्रम गरेको अध्यक्ष खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !