काभ्रे–नेकपा एमालेको आयोजनामा जारी समृद्धिका लागि संकल्प यात्रा महाअभियान अन्र्तगत मंसिर २४ गते मण्डनदेउपुरस्थित कुन्तावेशीमा विशाल जनसभा हुने भएको छ ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नारासाथ दार्चुलाको झुलाघाटबाट शुरु भएको अभियानको यात्रा ११ औं दिन यो आइतबार सिन्धुपाल्चोकको मेलम्ची हुदै काभ्रेपलाञ्चोक प्रवेश गर्न लागेको स्पष्ट पारिएको छ ।
शुक्रबार धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले काभ्रे जिल्ला कमिटिका अध्यक्ष अशोक व्याञ्जुले यो यात्राले एमालेको सशक्तिकरणका साथै अध्यक्ष केपी ओलीको नेतृत्वमा शुरु भएको ‘समृद्ध नेपाल,सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्न जनतामाझ नयाँ उत्साह समेत जागृत गराउने बताउनुभयो ।
मध्यपहाडी(पुष्पलाल)लोकमार्ग हुदै दार्चुलाको झुलाघाट-पूर्वको चिवाभञ्ज्याङसम्मको यात्रा स्थानीय जनताको समस्या संकलन,समाधान एवं विकासका सम्भावनाहरुको खोजीका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
प्रेस चौतारी काभ्रेद्धारा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटि काभ्रेका सचिव राजन भुर्तेलले भन्नुभयो,–‘एमालेको संगठन बलियो बनाउने,बिस्तार गर्ने रणनीति मात्रै हैन,स्थानीय जनताका आकांक्षा,विकासका सम्भावनाको पहिचानका लागि पनि यो यात्रा महत्वपूर्ण हुने देखिन्छ ।’
करीव २० हजार जनता सहभागि हुने अपेक्षा गरिएको कुन्तावेशीमा हुने सभालाई एमाले केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।
नेकपा एमाले काभ्रे र सिन्धुपाल्चोक मिलेर गर्न लागेको जनसभामा काभ्रेका साथै सिन्धुपाल्चोकका पनि हजारौं पार्टी सदस्य,सर्वसाधारण जनसमुदायको सहभागिता रहने सचिव भुर्तेलको भनाई छ । उहाँका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ ।
प्रेस विज्ञप्ति :