दुबई–संयुक्त अरब इमिरेट्स्को दुबईमा भइरहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) मा बरिष्ठ पत्रकार बालकृष्ण बस्नेतको लेखन तथा निर्देशन रहेको वृत्तचित्र हिमालको पुकार (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ ।

नेपालमा भएको जलवायु जन्य हानी नोक्सानी समेटिएको वृत्तचित्रमा सगरमाथा,अन्नपूर्णसहितका हिमाल पग्लिदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ ।

त्यस्तै, जलवायु परिर्वनका कारण नेपालको मनांग, मुस्तांग, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, डोल्पाको फुक्सुण्डो, तराई मधेशमा गएका बाढी पहिरो र क्षति समेटिएको छ ।

वृत्तचित्रमा प्रभावित क्षेत्रका वासिन्दाको आवाज समेटिएको छ भने नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानाआकृष्ट गराएको छ ।

सम्मेलन अन्तर्गत नेपाल पेभिलिएनमा वन तथा वातावरण मन्त्रालय र साथसाथै संस्थाको संयोजनमा भएको विशेष कार्यक्रममा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र प्रदर्शनपछि त्यसबारे विभिन्न विज्ञहरुबीच अन्तक्र्रिया समेत भएको थियो ।

अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन कोप २७ मा पनि बस्नेतकै लेखन, निर्देशन रहेको वृत्तचित्र द भ्वाइस् फर क्लाइमेट जष्टिस्, प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !