काठमाडौं–तामाङ पत्रकार संघले आफ्नो २० औं स्थापना दिवस बिहिबार विविध कार्यक्रम गरी मनाएको छ । संघको संघीय समितिले बौद्ध परिसरमा रक्तदान तथा स्व. दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् भने गोरखापत्रमा डेढ दशकदेखि क्रियाशिल सिवा तामाङले दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।

संघले आफ्ना संस्थापक,सल्लाहकार एवं सञ्चार,साहित्य,गीत संगीत क्षेत्रका व्यक्तित्व स्व.दिपेन्द्र दोङको सम्मानमा स्थापना गरेको दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र संवाददाता सिवालाई प्रदान गरेको हो ।

नगद १० हजार र सम्मानपत्रसहितको पुरस्कार उहाँलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले प्रदान गर्नुभयो ।

स्व. पत्रकार दोङको सम्मानमा १ लाखको अक्षयकोषको शुरुवात गरेको संघले पहिलो वर्ष रु ५ हजार र दोङको परिवारको तर्फबाट धर्मपत्नी एवं नायिका चाँदनी मोक्तानले रु ५ हजार गरेर १० हजार नगद पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जगत दोङले रक्तदान कार्यक्रम,पुरस्कार वितरण जस्ता रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाएकोमा खुसी व्यक्त गर्नुभयो ।

स्व. दिपेन्द्र दोङसँग रेडियो पत्रकारितादेखि चलचित्र निर्माण र निर्देशनसम्म गरेको सहकार्य स्मरण गर्नुहुदै उहाँले दोङको स्मृतिमा पुरस्कार स्थापना,वितरण गर्नु तामाङ समुदायका लागि योगदान दिएका दोङको सम्झना र सम्मानको रुपमा रहेको उहाँको भनाई छ ।

कार्यक्रमका अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले स्व. दोङको सम्झनामा स्थापना भएको पत्रकारिता पुरस्कारले दोङ योगदानको स्मरण गराउने र यसले भावि पुस्तालाई उर्जा दिने बताउनुभयो ।

संघले तामाङ भाषा,संस्कृति,सञ्चारको विकासका लागि देखाइरहेको सक्रियतालाई सकारात्मक रुपमा लिएको लामाको धारणा छ ।

अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रक्तदान जीवनदान हो भन्दै मानविय सहयोगको भाव जागृत गराउने खालको कार्यक्रम तामाङ पत्रकार संघले गरेकोमा खुसी लागेको बताउनुभयो ।

उहाँले संघलाई बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट गरिने सहयोग निरन्तर रुपमा रहने प्रतिवद्धता समेत जनाउनुभयो ।

२०७९ चैत ११ गते अल्पायुमै निधन भएका दोङको सम्मानमा स्थापना गरिएको दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट १० हजार नगद राशी सहितको पुरस्कार तामाङ पत्रकारहरुमध्येमा १ जनालाई प्रत्येक वर्ष प्रदान गर्दै जाने संघका अध्यक्ष सुवास योञ्जनले स्पष्ट पार्नुभयो ।

सञ्चार क्षेत्रमार्फत १६ वर्षदेखि तामाङ संस्कृति,भाषा,साहित्य एवं तामाङ आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान गरेकोमा त्यसको सम्मान स्वरुप सिवालाई यो पुरस्कारका लागि छनौट गरिएको पुरस्कार छनौट समितिका सदस्य लक्ष्मी रुम्बाले बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व एवं मानवीय सहयोगसँग जाडेर नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि गरिएको अध्यक्ष योञ्जनले बताउनुभयो ।

अकालमा कसैको ज्यान नजाओस्,यसमा केहि गरौं भन्ने अभिप्रायले रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।

सिर्जनशील क्षमताको विकास एवं दक्षता अभिवृद्धिका साथै तामाङ भाषा,साहित्य,संस्कृतिलाई प्राथमिकतामा राखेर क्रियाशिल तामाङ पत्रकारहरुको छाता संगठन संघले आफ्ना स्थापना दिवस मनाउने क्रममा यस खालको कार्यक्रम आयोजना गरेको वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जनले बताउनुभयो ।

संघका महासचिव तिर्थमान वलले स्थापना दिवस कार्यक्रममा सहयोग गर्ने,प्रदेश सांसद छिरिङ दोर्जे लामा,बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी,बौद्ध मेलम्ची घ्याङ गुठी,ओम् तामाङ सुखदुख गुठी,काठमाडौं महानगरपालिका वडा नं. ६ र गोकर्णेश्वर नगरपालिका वडा नं. ६,स्व. दिपेन्द्र दोङकी धर्मपत्नी एवं वरिष्ठ नायिका चाँदनी मोक्तान,जनता टेलिभिजन परिवार,तामाङ पत्रकार संघ काठमाडौं र भक्तपुर शाखाको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

तामाङ पत्रकारहरुलाई संगठित गरी व्यवसायिक क्षमता विकास,समुदायको पक्षमा आवाज बुलन्द गर्ने उद्धेश्यले ललितपुर जिल्ला प्रशासनको कार्यालयमा विं.सं. २०६१ मंसिर २१ मा तामाङ सञ्चार समूह(हाल तामाङ पत्रकार संघ)को दर्ता भएको थियो ।

संघको हाल बागमती प्रदेश र कोशी प्रदेशमा प्रदेश समिति,दक्षिण कोरिया प्रवास समिती र २३ वटा जिल्ला शाखा बिस्तार भएको र धेरै जसो शाखा एवं समितिहरुले अन्र्तक्रिया,शुभकामना आदानप्रदान,सम्मान जस्ता विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएका महासचिव वलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !