काठमाडौं–तामाङहरुको राष्ट्रिय छाता संगठनको रुपमा स्थापित घेदुङले अब तामाङ टोपी सम्म पनि नलगाउने व्यक्तिलाई कार्यक्रमको अतिथि नबनाउने उद्घोष नै गरेको छ । सोनाम ल्होछार मनाउने सन्दर्भमा आफ्ना मौलिक भेषभुषा प्रवद्र्धनलाई जोड दिदै यो पटक यस्तो निर्णय गरेको महासचिव जगत दोङले स्पष्ट पार्नुभयो ।

यस खालको अभियानमा साथ दिन घेदुङले सबैमा अनुरोध समेत गरेको छ । मंसिर ९ र १० गते नुवाकोटको बट्टारमा भएको घेदुङ संघीय कार्यसमितिको बैठकको निर्णयहरु सार्वजनिक गर्ने गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ल्होछार कार्यक्रमहरुमा तामाङहरुको मौलिक उत्पादन,भेषभुषा,गीतसंगीतको प्रवद्र्धनमा जोड दिने निर्णय गरेको बताएको हो ।

घेदुङले आफ्नो पहलमा महत्वपूर्ण पर्वकै रुपमा ल्होछार पर्व पुर्नस्थापित भएको उल्लेख गर्दै विधि,परम्परा अनुसार घर घरमा ल्होछार मनाउन तामाङ समुदायमा अनुरोध समेत गरेको छ ।

यद्यपी यो पटक पनि राजधानीमा ल्होछार कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ । यसमा स्टेजदेखि स्टलहरुसम्म बहुराष्ट्रिय कम्पनीका उत्पादनभन्दा आफ्ना मौलिक बस्तुहरुलाई स्थान दिने जानकारी दिइएको छ । यस खालका तामाङ कार्यक्रमहरुमा मौलिकतालाई जोड दिन खोज्नुलाई तामाङ समुदायले सकारात्मक रुपमा हेरिएको छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस !