काठमाडौं–नक्कली शरणार्थी प्रकरण मुद्धाले अहिले नेपाली राजनीतिक वृत्तमा तरंग पैदा गराइरहेको छ । कर्मचारीदेखि नेताहरुसम्म यो मुद्धामा तानिएका छन् । सत्तारुढ ठूलो दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण समेत पक्राउ परेपछि नयाँ तरंग पैदा भएको हो ।

यो मुद्धामा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरेको छ । केन्द्रिय कमिटिको बैठकको एजेण्डा तय गर्न मंगलबार बसेको एमाले सचिवालय बैठकले मुद्धा किनारा नलागेसम्मका लागि भन्दै रायमाझीलाई निलम्बन गरेपछि कांग्रेस नेता खाँणलाई पनि कारबाहीको नैतिक दवाव सिर्जना भएको छ ।

नेपाली कांग्रेसको जारी पदाधिकारी बैठकले बिहीबार यो निर्णय गर्न सक्छ कि सक्दैन यो चासोको रुपमा हेरिएको हो ।
बुधबार धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणलाई गरिने कुनैपनि खालका कार्बाहीबारे निर्णय गर्न सकेन ।

यसबारे थप छलफलका लागि कांग्रेसको पदाधिकारी बैठकले बिहीबार पनि निरन्तरता पाउने भएको हो ।
बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य रहेका खाँणलाई निलम्बन गरी अनुसन्धान सघाउन प्रस्ताव गर्नुभएको थियो ।

केहि कांग्रेस नेताहरु नक्कली शरणार्थी प्रकरणबारेको ‘अनुसन्धान परिपक्व’ भएपछि मात्र पार्टीले एउटा निर्णय गर्नुपर्ने पक्षमा छन् । सभापति शेरबहादुर देउवाले यसबारे कुनै प्रतिक्रिया नदिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !