
ह्राब्ने तथा औपचारिक अनावरण सम्पन्न :
काभ्रे– नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु रेम्पोछे (गुरु पद्मसम्भव) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ ।
यस अघिका समेत आर्थिक बर्षमा गरी वडाबाट ५० लाख,बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो ।
गुरु रेम्पोछेको यो मुर्ति सम्भवतः जिल्लामा नै अग्लो भएको दावी निर्माण उपभोक्ता समितिले गरेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार पनि जिल्लाको तेमाल लगायतका क्षेत्रमा गुरु रेम्पोछेको मुर्ति निर्माण भएको पाईएपनि यति अग्लो भने देखिएको छैन ।
रेम्पोछेको प्रतिमामा सोमबार ह्राब्ने(प्राण प्रतिष्ठा)का साथै धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रेम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो ।
नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो ।
धर्मगुरु रेम्पोछेले गुरु रेम्पोछेको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गर्नुभएको नमोबुद्ध नगरका प्रेस सल्लाहकार नगेन्द्र अधिकारीले जनाउनुभयो ।