
काठमाडौं–तामाङहरुको साझा संगठन नेपाल तामाङ घेदुङले बुधबार विभिन्न ३ अभियान घोषणा गरेको छ । घेदुङले यही बैशाख १६ र १७ गते पोखरामा सम्पन्न चौथो पूर्ण बैठकले गरेका निर्णयहरुलाई अभियानको रुपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक एवं घोषणा गरेको हो ।
घेदुङले तामाङ भूमि र तामाङ समुदायसँग आफ्नो सम्बन्ध विस्तार अभियानको रुपमा ‘तामाङ ह्युल थेन ह्युल्बाला थुइबा ल्हाम,नाम्सा–नाम्सारी घेदुङ’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा यो अभियान ताम्सालिङ क्षेत्र अन्र्तगत काठमाडौं उपत्यका एवं आसपासका जिल्लाहरुमा सञ्चालन गरिने अध्यक्ष मोहन गोलेले बताउनुभयो ।
संगठन सुदृढिकरण अभियानको रुपमा लिएको यो अभियानलाई सार्थक पार्न अध्यक्ष गोलेकै संयोजकत्वमा एक समिति समेत गठन गरेको जानकारी दिइएको छ ।
घेदुङको हालसम्म कुनै सांस्कृतिक भवन नरहेको जनाउँदै त्यसको निर्माणका लागि ग्रेन गेदिम खरिद(निर्माण) अभियानलाई पनि सार्थक रुप दिन गतिविधि तिब्र पार्ने तयारी गरेको जनाएको छ ।
गाउँगाउँमा कलाकारसहितको टोली बोकेर सांस्कृतिक जागरणका साथै आर्थिक सहयोग संकलनका कार्य गरिने अध्यक्ष गोलेले जानकारी दिनुभयो । उहाँका अनुसार २०८० चैत १ गतेसम्ममा यो अभियान पुरा गर्ने लक्ष्यका साथ संघीय सहअध्यक्ष कुमार घिसिङलाई विशेष जिम्मेवारी दिइएको छ ।
‘तामाङ मातृभाषा शिक्षा कार्यक्रम र सरकारी निकायमा लविङ,समुदायमा क्याम्पेनिङ’ अभियान सञ्चालन गर्ने निर्णय समेत पोखरा बैठकले गरेको महासचिव काजिमान थिङले बताउनुभयो । घेदुङको समन्वय र पहलमा विभिन्न स्थानीय तहहरुमा तामाङ मातृभाषामा पठपाठन भइरहेको जनाउँदै यस कार्यमा घेदुङले खेलेको भूमिका र स्थानीय सरकारको सहयोगको समिक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिवद्धता जाहेर गरेको छ ।
सरकारी तहमा लविङ गर्ने,तामाङ समुदायमा मातृभाषा बोल्न,पढ्न र लेख्न क्याम्पेनिङ सञ्चालन गर्ने र उक्त अभियानको ठोस कार्ययोजना निर्माण गरी कार्यन्वयनमा ल्याउन महासचिव काजिमान थिङलाई जिम्मेवारी दिने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय,प्रदेश र संघीय सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति,कार्यक्रम र बजेट निर्माण चरणमा रहेको सन्दर्भ जोड्दै घेदुङले तामाङ सशक्तिकरण र विकासका योजनाहरु पेश गर्न,रचनात्मक र सिर्जनात्मक ढंगले लाग्न आफू मातहतका स्थानीय तहसम्मका समितिहरु र अभियन्ताहरुमा आग्रह पनि गरेको छ ।
पत्रकार सम्मेलनमा घेदुङ अध्यक्ष गोलेले यो निर्णयलाई अभियानकै रुपमा सञ्चालन गरेर सफल पार्न सबै जुट्न आवश्यक रहेकोमा जोड दिनुभयो । बागमती प्रदेशलाई नेवा–ताम्सालिङ प्रदेश नामाकरणको लागि पृष्ठभुमि तयार पर्ने,पूर्वको कोशी प्रदेशमा पहिचानको आधारमा नामाकरणका लागि भएको आन्दोलनमा ऐक्यवद्धता लगायतका विषयमा पनि साझा मत बन्नुपर्ने धारणा राख्नुभयो ।
घेदुङको सूचना संचार तथा प्रकाशन विभागको आयोजना एवं विभाग प्रमुख तिर्थमान वल तामाङको सहजिकरण,घेदुङको अध्यक्ष गोलेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा घेदुङ सहअध्यक्ष कुमार घिसिङ,उपाध्यक्ष सिता लामा,सञ्चु ब्लोन,उपमहासचिव हर्क तामाङ,कोषाध्यक्ष रुपबहादुर योञ्जन,अभियन्ता पासाङ डोल्मा तामाङका साथै विभिन्न टेलिभिजन,रेडियो,छापा तथा अनलाइन पत्रपत्रिकाका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
घेदुङको पोखरा बैठकको निर्णय यस्तो छ,प्रेस विज्ञप्ति हेर्नुहोस् :