काभ्रे–नमोबुद्ध नगरपालिकाले इसिमोडको सहयोगमा सञ्चालन गर्दै आएको परियोजनाको बुधबार ब्रिटिस उच्च आयोगका अधिकारीहरुले अवलोकन गरेका छन् ।

नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका जोन वार्बटन, अर्चना शुक्ला, रचना भट्नागरसहितको टोलीले नमोबुद्ध नगरपालिका वडा नं २ मा सञ्चालित मुहान संरक्षण परियोजनाको स्थलगत अबलोकन गरेका हुन् ।

जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे टोलीले स्थलगत जानकारी लिएको नगरका प्रेस सल्लाहकार नगेन्द्र अधिकारीले जनाउनुभयो ।

नगर प्रमुख कुनसाङ लामालाई भेटेर उहाँहरुले परियोजनाका विभिन्न पाटोबारे जानकारी लिनुभएको थियो । नगर प्रवक्ता टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्याल, वातावरण अधिकृत सन्तोष काफ्ले लगायतले नमोबुद्धमा भइरहेका प्रयास र असल अभ्यासका बारेमा जानकारी दिनुभएको थियो ।

नगर प्रमुख कुनसाङ लामाले सिमित बजेटको कारण सबै क्षेत्रमा लगानी गर्न नसकेको भन्दै दातृ निकायको साथ आवस्यक रहेको बताउनुभयो । उहाँले सहकार्य गर्दै नगरपालिका पनि लगानी गर्न तयार रहेको बताउनुभयो ।

इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८/७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए ।

प्रतिक्रिया दिनुहोस !