
काभ्रे–कृषि ज्ञान केन्द्र काभ्रे र तेमालको लप्से भूमेस्थान कृषक समुहको ५० प्रतिशत साझेदारीमा रैथाने बाली मूल्य श्रृंखला प्रवद्र्धन कार्यक्रम (जौ खेती) का लागि स्थानीय किसानहरुलाई कृषि यन्त्र तथा बीउ वितरण गरिएको छ ।
कृषि उत्पादन वृद्धि एवं व्यवसायिकरणमा समेत सहयोग पुग्ने विश्वासका साथ तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले सोमबार वडा नं. २ ल्हाप्सेका किसानहरुलाई मिनि टिलर ट्रयाक्टर १५ ओटा, स्प्रे पम्प टु इन वान १० ओटा, डिस मिल २ ओटा, थ्रेसर मेसिन १ ओटा, जौको बीउ ४ सय किलोग्राम वितरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले यहाँको हावापानी सुहाउँदो मौलिक वालीको संरक्षण,प्रवद्र्धन गरी जनतालाई आत्मनिर्भर बनाउन गाउँपालिकाका योजना तर्जुमा गर्न तयार रहेको बताउनुभयो । रैथाने वालीको संरक्षण र प्रवद्र्धन गरेर मौलिक उत्पादनमा गाउँपालिकाले जोड दिएको उहाँको भनाई थियो ।
तेमालका किसानलाई आत्मनिर्भरताका साथै निर्यात गरी उनिहरुको आर्थिक समुन्नतीमा समेत कृषिमा यान्त्रीकरण,आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न आवश्यक रहेकोमा जोड दिदै अध्यक्ष लामाले रैथाने बाली मूल्य श्रृंखला प्रवद्र्धन कार्यक्रम(जौ खेती) सफल पार्न किसानहरुलाई अनुरोध गर्नुभयो ।
कृषक समुहका अध्यक्ष भिमलाल लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तेमाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, कृषि ज्ञानकेन्द्र काभ्रेका प्रतिनिधि राम शरण मिजार,तेमाल गाउँपालिका कृषि शाखा प्रमुख कुलदीप पहाडी लगायतको सहभागीता रहेको थियो ।