चितवन–राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउ दिएको छ ।
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको क्रममा चितवन रहेका पार्टी सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई अब समर्थन गरिरहुनको औचित्य पुष्टि हुन नसक्ने बताउनुभएको हो ।
स्थानीय सञ्चारकर्मीमाझ उहाँले जनताले बाहिरै रहेको हेर्न चाहेका पनि कुरा आएकोले त्यसतर्फ छलफल अघि बढ्ने बताउनुभयो ।
आफूहरुले समग्र राष्ट्रकै उन्नतिका लागि काम गर्ने जिकिर गर्दै उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे काठमाडौं गएपछि छलफल हुने जानकारी दिनुभयो ।
अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस,जनता समाजवादी पार्टी,नेकपा समाजवादी, जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चा,आम जनता पार्टी र स्वतन्त्र सांसदका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका समेत गरी १७२ सांसदको समर्थन छ ।