
काठमाडौं–नेपाल तामाङ घेदुङले सञ्चालन गरिरहेको ‘ग्रेन गेदिम’ खरिदका लागि नेपाल तामाङ घेदुङ, साइप्रसले हालै ४ लाख बढी आर्थिक सहयोग गरेको छ ।
तामाङ समुदायको एकमात्र साझा राष्ट्रिय संस्था घेदुङले खरिद गर्न लागिएको ग्रेन गेदिमको लागि सहयोग स्वरुप गत मंगलबार ४ लाख १८ हजार ४१८ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम नेपाल तामाङ घेदुङ साइप्रसका कोषाध्यक्ष बिपना घिसिङ तामाङ र पूर्व प्रवक्ता मञ्जु तामाङले घेदुङका संघीय अध्यक्ष मोहन गोलेलाई हस्तान्तरण गर्नु भएको घेदुङका सूचना संचार तथा प्रकाशन विभाग प्रमुख तिर्थमान वल तामाङले जानकारी दिनुभयो ।
रकम हस्तान्तरण गर्दै घेदुङ साइप्रसका कोषाध्यक्ष विपना तामाङले प्रतिव्यक्ति रुपमा जुटाएर साइप्रसको २९ सय २६ युरो रकम घेदुङको ‘ग्रेन गेदिम’ खरिदका लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको बताउनुभयो ।
घेदुङ साइप्रसका पूर्व प्रवक्ता मञ्जु तामाङले घेदुङको अभियान सबै तामाङहरुको अभियान भएकोले सहयोग गर्न आवश्यक ठानिएको बताउनुभयो ।
सहयोग रकम ग्रहण गर्दै घेदुङ संघीय अध्यक्ष गालेले वर्षौंदेखिको सपना पूरा गर्न आफूहरु लागि परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘यो हामीले ऐतिहासीक कार्यको थालनी गरेका छौं,यो हाम्रो वर्षौंदेखिको सपना थियो,पाँचौ राष्ट्रिय महाधिवेशनमै घोषणा गरिएको अभियान हो,विविध कारणले यो अभियान त्यो बेला पूरा हुन सकेन,आज त्यो अभिभारा हाम्रो काँधमा छ,यो अभियानमा सहयोग गर्न जुटेका सहयोगी हातहरुप्रति हामी आभारी छौं ।’
घेदुङले बहुउद्धेश्यीय सहितको संघीय कार्यालय भवन खरिदका लागि देशविदेशमा रकम संकलन अभियान जारी राखेको उहाँले स्पष्ट पार्नुभयो ।