काठमाडौं–वरिष्ठ पत्रकार,साहित्यकार,गीतकार एवं चलचित्र कर्मी स्व. दिपेन्द्र दोङको योगदानको चर्चा गर्दै उहाँको निधनले अपुरणीय क्षति पुगेको औंल्याईएको छ ।

तामाङ पत्रकार संघ संघीय समितिले बुधबार राजधानीमा आयोजना गरेको स्व. दिपेन्द्र दोङको श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको यस्तो धारणा आएको हो ।

वि.स २०३६ चैत १९ गते काभ्रेको तेमालमा जन्मनुभएका दोङको ४३ वर्षको युवा उमेरमै भएको निधनले ठूलो क्षति व्यहोर्नुपरेको कार्यक्रममा सहभागिहरुको भनाई छ ।

घेदुङका अध्यक्ष मोहन गोलेले दोङको निधनले सिंगो तामाङ आन्दोलनलाई नै क्षति पुर्याएको बताउनुभयो । पत्रकारिता,साहित्य,चलचित्र क्षेत्रमार्फत समुदाय र देशको समृद्धिमा कर्म गर्ने प्रतिभालाई राज्यले विर्सन नहुनेमा जोड दिदै उहाँले दोङका सम्पूर्ण जीवनी प्रकाशन,कृतिको संरक्षणका लागि घेदुङ साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।

तामाङ पत्रकार संघ,तात्कालिन तामाङ सञ्चार समूहका संस्थापक अध्यक्ष तथा लेखक रविन्द्र ग्यावकले स्वं दोङ निकै अर्थपूर्ण र परिणाममुखी कार्य गर्ने व्यक्ति रहेको बताउनुभयो ।

उहाँले सानै उमेरदेखि सिर्जना कर्मममा पृथक कार्य गर्न रुचि राख्ने दोङले आफूलाई बताए अनुसार ऐतिहासीक राजा ह्रेञ्जेन दोर्जे कृतिमाथि चलचित्र बनाउने र जेसुम गीति नाटक मञ्चन गर्ने योजना अधुरो रहेको ग्यावकले जानकारी गराउनुभयो । कक्षा ८ पढ्दै गर्दा नेपाली एकांकी नाटक ‘शंका’ लेखेका दोङको सिर्जनशिलता तिक्ष्ण रहेको ग्यावकको भनाई छ ।

वरिष्ठ पत्रकार प्रतिक ङेसुरले तामाङ समुदायमा आफ्नै ऐजेण्डा र विषयबस्तुमा व्यवसायिक पत्रकारिता गर्न सकिन्छ भन्ने हिम्मत बढाउन कुनै बेला ‘छार गोङमा’ मासिक प्रकाशनको क्रममा उर्जा भर्ने कार्य स्व. दोङले गरेको स्मरण गर्दै यसबाट तामाङ सञ्चार क्षेत्रले महत्वपूर्ण पाठ लिन सकिने बताउनुभयो ।

सञ्चार,चलचित्र,गीतसंगीतमा उठाउने विषयबस्तुलाई खास रुपमा पर्गेल्न सक्ने खुबी दोङसँग भएको उहाँको तर्क छ ।

लोक सम्राट चन्द्रकुमार मोक्तान,वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले अर्थपूर्ण सिर्जनाहरुका कारण स्व.दोङ अमर रहने बताउनुभयो ।

तामाङ पत्रकार संघ सल्लाहकर एवं वरिष्ठ पत्रकार जगत दोङले दुई दशक अघि चलचित्र मयुङ बुरिङ निर्माणको बेलादेखि स्व.दिपेन्द्र दोङसँगको सहकार्य बाक्लिएको उल्लेख गर्दै दोङलाई समयको हिम्मतिला प्रतिभाको रुपमा चित्रण गर्नुभयो ।

विगत सम्झना गर्दै उहाँले भन्नुभयो–‘बिस,एक्काइस वर्षको उमेरमा तामाङ पत्रकार सञ्चार समूह बनाएर,आर्थिक स्रोत जुटाएर चलचित्र बनाउन तम्सेका हामीले हिम्मत चाहिं गरेका रहेछौं,म प्रोड्युसर,निपेन्द्र जी निर्देशक,कुवेरजी संगीतकार भएछौं ।’ उहाँले तामाङ पत्रकार संघले स्व. दोङको सम्मानमा पत्रकारिता पुरस्कार एवं स्मारिका प्रकाशनको घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल अध्यक्ष टंक पन्तले स्व. दोङको सम्मानमा पत्रकारिता पुरस्कार एवं स्मारिका प्रकाशन कार्यमा आफूहरु पनि साथमा रहने बताउनुभयो । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जालका महासचिव समेत रहेका दोङको कृतिलाई बचाउन आवश्यक रहेको उहाँको भनाई छ ।

सहकार्यको वितत सुनाउँदै पन्तले भन्नुभयो–‘दोङजी पत्रपत्रिका हुदै खास रुपमा रेडियो,टेलिभिजनमा समेत हामीलाई सिकाउने क्षमता राख्नुहुन्थ्यो,गीत रचना,साहित्य सिर्जना र चलचित्र लेखन तथा निर्देशनमा समेत अब्बल उहाँको सम्मानमा हामी सबै जुट्न आवश्यक छ ।’

सभामा स्व. दोङका दाजु सुर्य दोङले दिपेन्द्र दोङ निकै मिहेनती रहेको स्मरण गराउँदै छोटो समयमा उहाँले गरेका सिर्जनाहरु अर्थपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

लेखन तथा पढाईमा तिक्ष्ण क्षमता भएका दोङले १५ वर्षको कलिो उमेर कक्षा ८ देखि नै साहित्य सिर्जना प्रकाशन थालेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले आल्यापुमै संसार छोडेर गएका भाईको योगदानलाई सम्झेकोमा तामाङ पत्रकार संघप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

तामाङ पत्रकार संघका तर्फबाट निवर्तमान अध्यक्ष विष्णु मोक्तानले स्व. दोङको सम्मानमा स्व. दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कारका लागि रु एक लाखको अक्षयकोष निर्माण र स्मारिका प्रकाशन गर्ने घोषणा गर्नुभएको थियो ।

तामाङ पत्रकार संघ अध्यक्ष सुवास योञ्जनले आफूहरुले एउटा अभिभावक गुमाएको उल्लेख गर्दै स्व. दोङको योगदानलाई अभिलेखीकरण,संरक्षण गर्न तामाङ पत्रकार संघ लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

सभाको सहजिकरण गर्दै तामाङ पत्रकार संघका महासचिव तिर्थमान वल तामाङले ब्रेन ह्यामरेजका कारण २०७९ चैत ११ गते निधन भएका दोङको सम्झना र सम्मानमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले दोङका परिवारजन,सञ्चार जगत,गीत संगीत,चलचित्र र साहित्य क्षेत्रले दोङको निधनको यो शोकलाई शक्तिमा बल्दल्न आवश्यक रहेको बताउनुभयो ।

श्रद्दाञ्जली सभामा तामाङ पत्रकार संघका संरक्षक रमिता वल,तामाङ कलाकार संघका उपाध्यक्ष विशाल काल्तान,आदिवासी चलचित्रकर्मी सञ्जोग लाफामगर लगायतले पनि स्व. दोङ बहुप्रतिभाको धनी व्यक्तित्व रहेको चर्चा गर्दै उहाँजस्ता प्रतिभाशाली व्यक्तिको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Photo : Anju dimdung tamang

प्रतिक्रिया दिनुहोस !