• जगत तामाङ :

काठमाडौं–तामाङ समुदायले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको तेमाल जात्रा हजारौं जनाले धुमधामका साथ मनाएका छन् । बौद्ध स्तुपमा बुधबार दिवंगत आफन्तको सम्झनामा ङोःवा,मोलम,पूजापाठ तथा छ्युमे प्रज्वलन गरी शुरु भएको जात्रा बिहीबार स्वयम्भू महाचैत्यमा समापन भएको हो ।

पर्वकै रुपमा मनाइने यो जात्रा व्यस्थापनका लागि बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिको विभिन्न संघसंस्थाहरु र स्वयम्भूमा स्वयम्भू तेमाल जात्रा व्यवस्थापन समिति लगायतको व्यवस्थापनमा हुदै आएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ति तामाङका अनुसार जात्रा व्यवस्थापनमा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा विभिन्न संघसंस्था खटेका हुन् ।

जात्रा प्रवद्र्धनका लागि विभिन्न संघसंस्थादेखि मिस तामाङसम्म

संघसंस्थाहरुले यो पटक पनि श्रद्धालुहरुको सहजताका लागि निशुल्क जुस,खानेपानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरे । नेपाल तामाङ संस्कृति घेदुङले बृहत सांस्कृतिक कार्यक्रम नै गरेको छ । 

स्वयम्भूमा पनि बिहीबार स्वयम्भू तेमाल जात्रा व्यवस्थापन समिति,तेमाल(स्वयम्भू)तामाङ जात्रा व्यवस्थापन समाज,तामाङ डाजाङ,उज्यालो समाज परिवार,शाक्यमुनि बुद्ध कन्स्ट्रक्सन लगायत विभिन्न संघसंस्थाले निशुल्क रुपमा खानेपानी,जुस वितरण गरेका हुन् । 

यसैक्रममा मम्स इन्टरनेशनल नेपालको तर्फबाट मिस तामाङ २०२३ पासाङ याङ्जी तामाङ,फष्ट रनरअप सुशिला तामाङ,सेकेण्ड रनरअप सिर्जना गोले तामाङ,मिस तामाङ २०२१ सफलता तामाङ लगायत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत यस खालको कार्यक्रममा सहभागि भएको संस्थाका निर्देशक रञ्जिता ब्लोनले बताउनुभयो ।

जात्रा प्रवद्र्धनका लागि नेपाल तामाङ संस्कृति घेदुङले औपचारीक कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष छेवाङ तेञ्जिङ लामाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हित बहादुर तामाङले तेमाल जात्रा सिंगो तामाङ समुदायको पहिचान भएको धारणा व्यक्त गर्नुभयो । 

सांस्कृतिक कार्यक्रमका साथ गरिएको कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो । साथै तामाङ जातिको उत्थानमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको संस्कृति घेदुङका अध्यक्ष लामाले जानकारी दिनुभयो । 

काभ्रे पनौतीदेखि जात्रा भर्न स्वयम्भू आएका सुन लामाले आफू दिवंगत आफन्तको सम्झनामा छ्युमे बाल्न आएको बताउनुभयो । छ्युमे प्रज्वलन,पुजा,छोःमोलम गरेमा पितृ उद्धारका साथै भगवानको आर्शिवाद पाउने उहाँको भनाई छ । 

तामाङ समुदायको मौलि फापर गीत गाउँदै गरेको भेटिएका तेमालका वालीमाया मोक्तानले आफू फापर गीतको प्रवद्र्धनका लागि धेरै पटक यस खालको जात्रामा सहभागि हुने गरेको बताउनुभयो । 

सिन्धुलीका कान्छामान बल,काभ्रे पाँचखालका रत्न तामाङले पनि यसमा सहमति जनाउँदै दुख,सुखका कुरा व्यक्त गर्ने मौलिक शैली फापर गीत आजको पुस्ताले पनि ग्रहण गर्ने अवस्था निर्माण गर्नुपर्ने तर्क गर्नुभयो ।

यो जात्रामा पुजाआज पछि दान दक्षिणा दिने र तामाङ फापर ह्वाइ तथा सेलो गाउँदै नाँच्ने चलन पनि छ ।

जात्रामा पछिल्लो समय खान्दोके सेलो पनि गुञ्जिने गरेको छ ।

यो जात्रा शुरुवातबारे विभिन्न जनश्रुती प्रचलित छन् । तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती पनि रहेको छ । 

जात्रा सुरु हुँदा ताका विशेषगरी तेमाल क्षेत्रका तामाङ सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको बताइन्छ । अहिले यस जात्रामा काठमाडौ लगायत काभ्रे, सिन्धुपाल्चोक, धादिङ तथा अन्य जिल्लाहरुका तामाङहरु आइपुग्छन् ।

तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ ।

तस्विर : जगत तामाङ

प्रतिक्रिया दिनुहोस !