
काठमाडौं– तेमाल जात्रा भर्न आउने श्रद्धालु भक्तजनहरुलाई काठमाडौंको अनामनगरस्थित रेडियो मिर्मिरे ८९.४ मेगाहर्जद्वारा निःशुल्क खानेपानी तथा जुस वितरण गरिएको छ ।
रेडियोमा प्रसारित दैनिक तामाङ भाषाको रेडियो कार्यक्रम म्हारम्हेनको पहलमा जर्मनीस्थित बर्लिन शहर बस्ने युवा समाजसेवी तथा पर्यटन ब्यबसायी ज्ञान बहादुर लामा (राजेश) मार्फत श्रद्धालु भक्तजनहरुलाई निःशुल्क खानेपानी तथा जुसको ब्यवस्था गरिएको हो ।
तेमाल गाउँपालिका वडा नं.६, वाथीटोल,काभ्रे स्थायी घर भै हाल बर्लिनमै होलि एभरेस्ट नेपाली रेस्टुरेन्टू संचालन गरिरहेका लामा साँडे दुई दशकदेखि पर्यटन क्षेत्रमा सम्बद्ध हुनुहुन्छ ।
उहाँले केहि महिना अगाडि मात्रै स्वर्गीय हुनुभएको आफ्नो श्रद्देय बुबाप्रति बिशेष श्रद्धाञ्जली व्यक्त गर्दै सबै मृत पितृहरुप्रति यो बिशेष चैत पुर्णिमा अर्थात् तेमाल जात्रामा यस्तो सेवा गरी मार्फत सम्झना गर्नुभएको हो ।
तेमाल जात्रामा रेडियो मिर्मिरेले हरेक बर्ष चैत पुर्णिमाको अघिल्लो दिन र भोलिपल्ट लाइभ प्रसारण गर्दै आए बमोजिम यसपटक पनि यो जात्राको प्रवद्र्धनका लागि प्रत्यक्ष प्रसारण गरिएको रेडियो मिर्मिरेको तामाङ भाषा प्रसारण प्रमुख बिष्णु दोङले बताउनुभयो ।
तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पितृको सम्झनामा छ्युमे बाल्ने,पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ ।