काठमाडौं–तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा रहेको तेमाल जात्रा बुधबार शुरु भएको छ ।

पर्वकै रुपमा मनाइने यो जात्रा बौद्ध स्तुपमा दिवंगत आफन्तको सम्झनामा ङोःवा,मोलम,पूजापाठ तथा छ्युमे प्रज्वलन गरी शुरु भएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ति तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार जात्रा व्यवस्थापनमा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा विभिन्न संघसंस्था खट्ने गरेका छन् । यो पटक पनि श्रद्धालुहरुको सहजताका लागि निशुल्क जुस, खानेपानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरिएको तामाङले बताउनुभयो ।

जात्रा शुरुवातबारे विभिन्न जनश्रुती प्रचलित छन् । तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती पनि रहेको छ ।

जात्रा सुरु हुँदा ताका विशेषगरी तेमाल क्षेत्रका तामाङ सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको बताइन्छ । अहिले यस जात्रामा काठमाडौ लगायत काभ्रे, सिन्धुपाल्चोक, धादिङ तथा अन्य जिल्लाहरुका तामाङहरु आइपुग्छन् ।

यो जात्रामा पुजाआज पछि दान दक्षिणा दिने र तामाङ फापर ह्वाइ तथा सेलो गाउँदै नाँच्ने चलन पनि छ ।

तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस !