
काठमाडौं–उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रुपमा पठाउने सरकारको तयारी अघि बढेको छ । यसका लागि स्वयंसेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र कार्यविधि पास गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।
सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव रहेको सन्दर्भमा आयोगको सोमबारको बैठले यो कार्यविधि पास गरेको हो । यो कार्यविधि पास गरिएसंगै स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी स्वयंसेवक शिक्षकको रुपमा विद्यालयमा खटिन पाउने भएका छन् ।
निर्देशिका र कार्यविधि वैज्ञानिक ढंगले निर्माण गरेर त्यसमा व्यापक छलफल गरी अगाडि बढाएको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीलाई उदृत गर्दै अनलाइनखबरमा खबर प्रकाशित छ ।
स्वयंसेवक शिक्षक स्वेच्छिक हुने र स्वयंसेवकहरुले जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्नेछन् । तर अहिले विषयगत शिक्षक अभाव भएको र सिकाइको गुणस्तर खस्किएकाले शिक्षकको रुपमा पठाउन जोड दिइएको आयोगका अध्यक्ष अधिकारीले बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगले सोमबार पास गरेको निर्देशिका र कार्यविधिमा लेखिएअनुसार स्वयंसेवाको अवधि तीन महिनाको हुने छ ।
स्वयंसेवक शिक्षकको रुपमा खटिने उच्च शिक्षाका विद्यार्थीहरुले तीन हजारदेखि पाँच हजार रुपैयाँ यातायात खर्च र ३० हजारदेखि ३२ हजार रुपैयाँसम्म निर्वाह भत्ता पाउने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
ए ग्रेडमा पास भएकाले ३० र बी ग्रेडमा पास भएकाले २५ अंक पाउने छ । योग्यता, हाजिरी र जान चाहेको क्षेत्रको आधारमा सबैभन्दा बढी अंक पाउने विद्यार्थी स्वयंसेवकको रुपमा छनोट हुनेछ ।
तोकेको अवधि तीन महिना भन्दा बढी पनि स्वयंसेवा गर्न पाइने छ तर निर्वाह भत्ता भने तीन महिनाको मात्र उपलब्ध हुनेछ । स्वयंसेवक शिक्षक विश्वविद्यालयले छनोट गर्ने छ ।