गुम्बा र सडकमा सहयोग गर्ने उपप्रधान एवं गृहमन्त्रीको प्रतिवद्धता

काभ्रे–तेमाल गाउँपालिका वडा नं. ८ टेकानपुरमा नव निर्मित उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको ह्राब्ने एवं उद्घाटन गरिएको छ ।

बौद्धमार्गी तामाङहरुको आस्थाको धरोहरको रुपमा स्थापना गरिएको गुम्बाको स्याल्पा तेञ्जिन रेम्पोछेबाट छ्याने ह्राब्ने पश्चात औपचारिक रुपमा शनिबार नै नेपाल सरकार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाहुलीबाट उद्घाटन गरिएको हो ।

गुम्बा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले ऐतिहासीक क्षेत्र तेमालमा गुम्बा निर्माण हुनु गौरवको विषय रहेको बताउनुभयो ।

गुम्बा निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै श्रेष्ठले भन्नुभयो–‘म खुशी छु,गुम्बा निर्माणका लागि पहल कदमी लिने जगत दोङ र मायालु बहिनी,सहर्ष रुपमा जग्गा प्रदान गर्ने उहाँका बुबाआमा,आर्थिक,भौतिक वा अन्य कोणबाट योगदान पुर्याउनुहुने सबैमा विशेष धन्यवाद दिन चाहन्छु ।’

गुम्बा निर्माणको काम विकास निर्माणका अरु काम भन्दा कम महत्वको नरहेको बताउँदै श्रेष्ठले कतिपयले यसलाई रुढिवादी धार्मिक कोणबाट व्याख्या गर्न सक्ने भएपनि त्यसो नभएर यो संस्कृतिलाई बचाउने अभियान पनि भएको धारणा व्यक्त गर्नुभयो ।

‘परम्परागत संस्कृतिलाई निरन्तरता दिने,बचाउने साथसाथै अहिलेको मान्छेलाई आवश्यक ध्यानको दिशातिर उन्मुख गराउने पवित्र थलोको रुपमा यो गुम्बाले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’–माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले गुम्बाको ध्यान कक्ष,कम्पाउण्ड घेराबार लगायतका बाँकी रहेका कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गुम्बाका अध्यक्ष जगत दोङले राखेको प्रस्ताव अनुसार माम्ती पुलबाट मेच्छेपौवा सम्मको बाटो स्तरउन्नतीको जिम्मा सरकारले लिने बताउनुभयो । श्रेष्ठले संघीय सांसद,प्रदेश सांसद,राजनीतिक दहलहरुसँगको समन्वयमा तेमालमा आवश्यक विकास निर्माणका कार्यहरु गर्ने वचन समेत दिनुभयो ।

संघीय सांसद एवं पुर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ(लालध्वज)ले आजको व्यवस्था ल्याउन संघर्ष गरेर सहादत प्राप्त गरेका स्थानीय शहिदहरुको सम्मानमा सडकको नामाकरण र ति पूर्वाधार स्तरउन्नतीका कार्य अघि बढाउने बताउनुभयो ।

गुम्बा निर्माण तेमालको पहिचान प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संस्कृति प्रवद्र्धनका साथै यो क्षेत्रमा स्वास्थ्य,रोजगार,शिक्षा,खानेपानी,कृषि लागयतका विकास निर्माणका काममा समेत सहयोग रहने वाचा गर्नुभयो ।

गुम्बा निर्माण समितिका अध्यक्ष वरिष्ठ सञ्चारकर्मी एवं अभियन्ता जगत दोङले पहिचान अभिवृद्धि तथा पुण्य प्राप्तिको यो अभियानमा जोडिएका सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

‘गुम्बा त विशेषगरी लामा गुरुहरुले बनाउनु पर्ने भन्ने लाग्ला,पत्रकारको नेतृत्वमा गुम्बा बनेको छ,मैले बुझेको गुम्बा पक्कै पनि कर्मकाण्डीको रुपमा हुनुहुदैन,समाजसँग जोड्दै अगाडि लानुपर्छ भन्ने मान्यता हो’,–गुम्बा क्षेत्रलाई ध्यान केन्द्रको रुपमा विकास गर्ने अवधारणा समेत प्रकाश पार्दै उहाँले भन्नुभयो,‘जसरी बुद्धको शिक्षा छ,गुरु रेम्पोछेको शिक्षा छ,त्यो शिक्षालाई गुम्बामार्फत प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो ध्येय रहेको छ,यसमा ध्यान केन्द्र समेत निर्माण गर्दैछौं ।’

उहाँका अनुसार गुम्बा निर्माणका लागि आर्थिक संकलनमा निकै संघर्ष गर्नु परेको छ । अधिकांश देश विदेशका सहयोगी व्यक्तिहरुबाट संकलित चन्दादान,स्थानीय श्रमदानबाट नै यो उपलब्धि हाँसील भएको उहाँको भनाईबाट स्पष्ट हुन्छ ।

वडा कार्यालय तथा स्थानीय सरकारले यथोचित सम्बोधन नगरेको उहाँको भनाई छ । अध्यक्ष दोङले गुम्बा निर्माणका लागि १ करोड ५० लाखको हाराहारीमा खर्च भइसकेको जानकारी दिनुभयो ।

व्यक्तिगत चन्दा बाहेक स्थानीय सरकार तेमाल गाउँपालिकाबाट ४ लाख,प्रदेश सरकारबाट १० लाख,बुद्ध दर्शन तथा गुम्बा विकास समितिबाट ५ लाख मात्र आर्थिक स्रोत जुटेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले गुम्बा निर्माणमा जग्गादान गर्ने स्थानीय समाजसेवी गुञ्जमान तामाङ दम्पतीलाई सम्मानपत्र र खादाद्धारा अभिनन्दन गर्नुभएको थियो ।

स्याल्पा रेम्पोछेको वाङ अभिषेक : स्थानीयमा खुशीयाली

स्थानीय क्षेत्रमै निर्माण भएको पक्की र कलात्मक आस्थाको धरोहरु गुम्बाको दर्शनका साथै रेम्पोछेबाट वाङ लिन पाएपछि स्थानीय निकै खुशी भएका छन् । ७३ वर्षिया वृद्धा भन्नुहुन्छ,–‘यत्रो गुम्बा निर्माण भयो,दर्शन गर्न,वाङ लिन पायौं खुशी लाग्यो ।’

त्यस्तै स्थानीय चन्द्र बहादुर तामाङले आफ्नै गउँमा गुम्बा निर्माण भएर उद्घाटन हुदा गर्व लागेको बताउनुभयो । उद्घाटनको उपलक्ष्यमा ग्रह दशा कट्ने विश्वासका साथ आयु अभिषेक कार्यक्रममा सहभागी हुन पाउनु महत्वपूर्ण अवसर भएको उहाँको भनाई छ ।

डुब्बा ने : आमा समूह चोपटारबाट सहभागि बामनी लामाले स्थानीय क्षेत्रमै गुम्बा निर्माण भएपछि खुशी भएर गुम्बा र रेम्पोछेको दर्शनका लागि आएको बताउनुभयो । स्थानीय क्षेत्रमा आफ्नो संस्कृतिको संरक्षण तथा पुण्य प्राप्तिका लागि यस्तो गुम्बा निर्माण महत्वपूर्ण रहेको उहाँको धारणा थियो ।

वाङ लिन तेमालका अन्य गाउँहरुबाट समेत कैयौं स्थानीयहरु सहभागि भएका थिए । वाङ तथा औपचारिक कार्यक्रमपूर्व गुरु स्याल्पा तेञ्जिन रेम्पोछेबाट गुम्बाको छ्याने ह्राब्ने सम्पन्न गरिएको गुम्बाका लामा गुरु रुपसिं लामाले जानकारी दिनुभयो ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विशिष्ट अतिथिको रुपमा गुरु स्याल्पा तेञ्जिन रेम्पोछे,अतिथिका रुपमा संघीय सांसद सूर्यमान दोङ,प्रदेश सांसद रत्न ढकाल,रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,तेमाल वडा नं. ८ का अध्यक्ष तेमाल सिं तामाङ,वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ,पूर्व वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ,समाजसेवी शंखबुद्ध लामा,नेकपा एमाले नेतृ एवं गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्षका प्रत्यासी सम्तेन लामा,अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष एवं समाजसेवी टासी लामा,नेपाल तामाङ घेदुङ उपाध्यक्ष सञ्चु ब्लोन,तामाङ पत्रकार संघका पूर्व अध्यक्ष विष्णु मोक्तान,वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन,महासचिव तिर्थमान वल,विकासविज्ञ एवं समाजशास्त्री संग्राम लामा,समाजसेवी एवं अभियन्ता जय गोले,विकु लामा,उदय तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !