काठमाडौं–नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई जना बलात्कारका आरोपीले पुरस्कार र पदक पाएका छन् । प्रज्ञा भवन, कमलादीमा चैत्र १२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले आफैंले गरेका कार्यक्रममा चालक विशाल लामा र खरिदार कृष्णप्रसाद दाहाल पुरस्कृत भएको खुलासा भएको हो ।
उनीहरु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीद्धारा नै पुरस्कृत भएपछि यो विषयले चर्चा पाएको छ । प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित आफ्नो स्वागत कार्यक्रमका अवसरमा मन्त्री किराँतीले चालक लामा र खरिदार दाहाललाई उक्त पदक तथा पुरस्कार प्रदान गरेपछि झनै सार्वजनिक रुपमा प्रश्न उठेको हो ।
प्रज्ञा सेवा पदक तथा पुरस्कारद्वारा पुरस्कृत लामा र दाहाल बलात्कार आरोपमा डेढ वर्षअघि एक महिना हिरात बसी अदालतको आदेशमा धरौटीमा छुटेका थिए । जोरपाटीका दुई महिलाले लामा र दाहालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारको आरोपमा मुद्धा दायर गरेका थिए । मुद्धा अहिले पनि अदालतमा विचाराधिन रहेको छ ।
अघिल्लो प्राज्ञ परिषद्ले निजहरू विरुद्धको बलात्कार मुद्धा अदालतमा विचाराधिन रहेकै कारण प्रज्ञा–प्रतिष्ठानको वार्षिक उत्सव असार ९ गतेका दिन प्रदान गर्नुपर्ने पदक तथा पुरस्कार प्रदान गरेको थिएन । नयाँ प्राज्ञ परिषद् आएपछि मन्त्री किराँतीलाई स्वागत गर्ने निहुँमा बलात्कार आरोपीहरूलाई पुरस्कृत गरिएको हो ।
लामा र दाहालविरुद्ध अदालतमा बलात्कारको मुद्धा विचाराधिन रहेको हुँदा मन्त्रीको हातबाट पदक र पुरस्कार प्रदान गर्नु राम्रो नहुने कुरा कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई प्राज्ञ परिषद्का सदस्यहरूले सल्लाह दिएता पनि कुलपति राईले ‘मन्त्रीजीले त्यस्ता कुराको बाराना गर्दैन’ भनेको प्राज्ञ परिषद्का एक जना प्राज्ञ सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
यसअघि पटक पटक प्रज्ञा–प्रतिष्ठानमा आइसकेका मन्त्री किराँतीलाई स्वागत गर्ने निहुँमा बलात्कार आरोपीद्वय लामा र दाहालाई पदक र पुरस्कार प्रदान गर्नुका साथै जगेडामा परेकी सन्ध्या पहाडीलाई मन्त्रीसँग चिनजान गराई उनलाई प्रज्ञा–प्रतिष्ठानमा हाबी गराउने कर्मचारी ट्रेड युनियन र प्राज्ञ परिषद्को भित्री योजना रहेको बुझिएको छ ।
प्रतिष्ठानभित्र यस खालको चलखेल देखिएपछि कला,साहित्य क्षेत्रका बुद्धिजीविहरुले चिन्ता व्यक्त गरेका छन् ।