
फाइल फोटो :
काठमाडौं-सरकार विस्तारको तयारीमा रहेको प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी नेकपा माओवादीबाट उपप्रधानमन्त्री सहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएका नारायणकाजी श्रेष्ठको जिम्मेवारी फेर्ने तयारी गरेका छन् ।
नागरिकता मुद्दामा राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले गत माघ १३ गते सांसद र मन्त्री पद गुमाएसँगै प्रचण्ड आफैंले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मा श्रेष्ठलाई दिने तयारी गरेको खबर प्रधानमन्त्रीनिकट नेताहरूलाई उदृत गर्दै नेपाल खबरमा प्रकाशित छ ।
करिब २ महिनादेखि अड्किएको मन्त्रिमण्डल विस्तारलाई प्रधानमन्त्री प्रचण्डले बुधबार अघि बढाउने तयारी गरेका छन्।प्रचण्डले आफ्नो जिम्मेवारीमा रहेका १६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न १० दलीय गठबन्धनसँग संवाद गरिरहेका छन्।
रविको सांसद पद गएपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीसँग गृहमन्त्रालय मागेको थियो। तर प्रचण्डले गृह अरुलाई दिन तयार भएनन्। प्रधानमन्त्रीले देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोक्ने गृह आफ्नै पार्टीमा राख्न चाहे।
यस्तोमा एमाले नेतृत्वको गठबन्धन टुटेर बनेको १० दलीय गठबन्धनमा सहमति जुटाएर श्रेष्ठलाई भौतिकबाट गृहमा ल्याउने तयारी प्रचण्डले गरेका हुन्।
यदि नारायणकाजी भौतिकबाट सरुवा भएमा उनले दोस्रो पटक गृहमन्त्रालय सम्हाल्ने छन्। यसअघि श्रेष्ठ पहिलोपटक २०६८ साउन १६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए।
उनी त्यसबेला केवल एक महिनामात्रै गृहमन्त्री बनेका थिए। त्यहीबेला उनी गृह छाडेर २०६८ भदौ १८ मा परराष्ट्र मन्त्री भए। त्यसबेला पनि उनी उपप्रधानमन्त्रीको भूमिकामा थिए।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ ११ पुसमा एमाले(माओवादीसहित ७ दलीय गठबन्धन सरकारमा भौतिक मन्त्री बनेका थिए।
नयाँ गठबन्धन बनेर मन्त्रिमण्डल विस्तार गर्दा श्रेष्ठको मन्त्रालय फेरिने निश्चित भएको हो।
श्रेष्ठले मन्त्री बनेको सय दिन पुरा भएको अवसर पारेर सोमबार पत्रकार सम्मेलन गरि आफुले भौतिक योजना मन्त्रालयमा गरेका कामको ब्रिफिङ गर्दै सो मन्त्रालय छाड्न लागेको संकेत पनि दिए।
‘नारायणकाजी श्रेष्ठलाई गृहको जिम्मेवारी दिने निश्चित जस्तै छ,’ प्रधानमन्त्री प्रचण्ड निकट माओवादीका एक नेताले भने, ‘अन्य कारणले अब रोकिने सम्भावना छैन।’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले पनि नारायणकाजीको मन्त्रालय फेरिने कुरा पुष्टि गरे। ‘प्रधानमन्त्रीले अर्थ वा गृहमध्ये कुनै एउटा राख्नैपर्ने रहेछ,’ उनले भने।
श्रेष्ठलाई गृहमा सार्ने तयारी भएपनि भौतिक मन्त्रालय माओवादीले नै राख्न खोजेको छ। तर, एकीकृत समाजवादीले उक्त मन्त्रालय दाबी गरेको छ। सहरी विकास र भौतिक विकासे मन्त्रालयका रुपमा चिनिन्छन्। जहाँ अन्य मन्त्रालयभन्दा बढी बजेट चलाउन पाइन्छ।
नेताहरुका अनुसार माओवादीले पुस १० मा लिएका केही मन्त्रालय पनि फेरिने छन्। फेरिने अन्य मन्त्रालयबारे निर्णय भइसकेको छैन। तर संभवतः अमनलाल मोदी मन्त्री रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि फेरिन सक्छ।
माओवादीबाट श्रेष्ठसहित सञ्चार एवम् सूचना प्रविधि मन्त्री रेखा शर्मा, पर्यटनमा सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी छन्।
मन्त्रालय बाँडफाँटबारे छलफलका लागि मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले कुनै निर्णय गर्न सकेन। त्यसैले बुधबार केही मन्त्रीलाई सपथ गराउने प्रधानमन्त्रीको तयारी फेरि सर्न सक्ने देखिएको छ।
एमाले–माओवादी नेतृत्वको सात दलीय गठबन्धन बन्दा नै श्रेष्ठलाई गृह दिने तयारी थियो। त्यसबेला नै रास्वपाले गृहमा दाबी नछोडेपछि प्रधानमन्त्रीले श्रेष्ठलाई भौतिकको जिम्मेवारी दिएका थिए।
त्यसबेला आफूलाई भौतिकमा पठाइएको भन्दै उनले सुरुमै असन्तुष्टि जनाएका थिए। तर १३ फागुनमा कांग्रेस–माओवादीसहित ९ दलको अर्को गठबन्धन बनेको छ। नयाँ गठबन्धन बनेपछि ९ दलकै सांसदहरु मिलाएर मन्त्रिमण्डल विस्तार हुँदैछ।
यहीबेला प्रधानमन्त्रीले श्रेष्ठको मन्त्रालय फेरबदल गर्ने तयारी गरेका हुन्। एमालेले छाडेर कांग्रेस भित्रिएपछि माओवादीले थप एक मन्त्रालय लिन खोजेको छ। जसमा माओवादीको दाबी गृह छ।
तर, सरकारमा सहभागी हुने दलको संख्या बढेपछि मन्त्रालय थप पाउने(नपाउने निश्चित छैन।
को हुन् श्रेष्ठ ?
गोरखाको जौबारीमा २०१६ सालमा जन्मेका श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।
२०३६ सालतिर श्रेष्ठले काठमाडौंको सिद्धार्थ बनस्थलीमा केही समय गणित पढाएका थिए। त्यसपछि उनी भूमिगत भए।
उनी २०६२/०६३ को जनआन्दोलन सफल भएपछि खुला राजनीतिमा सार्वजनिक भएका हुन्।
२०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन ९चौम० को केन्द्रीय सदस्य बन्दै कम्युनिस्ट राजनीतिमा सक्रिय भएका उनी २०४८ सालमा प्रचण्डहरुसँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र)मा पोलिटब्यूरो सदस्य चुनिएका थिए।
२०५१ मा एकताकेन्द्र विभाजन भयो। प्रचण्ड–बाबुराम भट्टराईले नेकपा ९माओवादी० गठन गरे र जनयुद्धमा होमिए। श्रेष्ठ भने एकता केन्द्रमै बसेर लामाबाट नेतृत्व आफ्नो हातमा लिए।
झण्डै ८ वर्षसम्म उनी नेतृत्वमै रहे। श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्र र मोहनविक्रम सिंह, चित्रबहादुर केसीले नेतृत्व गरेको नेकपा मसाल बीच एकता भएर नेकपा एकता केन्द्र मसाल बन्यो।
त्यस पार्टीको महामन्त्री मोहनविक्रम सिंह चुनिए भने श्रेष्ठ सह महामन्त्री बने। तर, दुई पार्टीको एकता लामो समय कायम रहेन। विभाजन भयो।
जनयुद्ध हुँदै शान्तिपूर्ण संसदीय व्यवस्थामा प्रवेश गरेको नेकपा माओवादीसँग २०६५ सालमा एकताकेन्द्र मिल्यो। त्यसपछि नयाँ बनेको दलको उनी उपाध्यक्ष भए।
साभार : सागर न्यौपाने ,नेपाल खबर