भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा रहेका २० सहकारी संस्थाका व्यवस्थापकले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण पाएका छन् ।

सहकारी संस्थाका व्यवस्थापकहरुलाई कोपोमिस बारे दुई दिने अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी सम्हाल्दै आएका नमोबुद्ध नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो ।

कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनियर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभयो । कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित,विश्वसनिय,वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ।

उपशाखा प्रमुख सुनुवारले नगर भित्रका सहकारी संस्थालाई क्रमशः कोेपोमिसमा आवद्ध गर्दै लैजाने बताउनुभयो ।

नगरका प्रेस संयोजक नगेन्द्र अधिकारीका अनुसार तालिमको उद्धघाटन कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगर क्षेत्रका सहकारीलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सहकारीसम्बन्धी तथ्यांक व्यवस्थित गर्दै सहकारीले गरिबी निवारण र आर्थिक समृद्धीमा योगदान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !