काठमाडौं–वरिष्ठ पत्रकार,चलचित्र निर्देशक,लेखक एवं गीतकार स्व. दिपेन्द्र विक्रम दोङको बौद्ध परम्परा अनुसार सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ ।
मस्तिष्क घातका कारण उपचारकै क्रममा मेडिसिटि अस्पतालमा शनिबार निधन भएका दोङको विहान तामाङ गुम्बा बौद्धबाट शवयात्रा गर्दै राष्ट्रिय सांस्कृतिक संस्थान जमलमा डेढ घण्टा श्रद्धाञ्जली सभा गरिएपछि स्वयम्भूमा दाहसंस्कार गरिएको हो ।
अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार,कलाकार,आफन्त,अभियन्ता,सर्वसाधारण जमलका साथै स्वयम्भूको तामाङ दुर्सामा पुगेका थिए ।
स्व. दोङलाई नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडाल,एमाले केन्द्रिय सहकारी विभाग सदस्य बागमती प्रदेश सांसद ज्ञान बहादुर तामाङ,बागमती प्रदेश सांसद एवं कांग्रेस काभ्रे सभापति तिर्थ लामा,नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,प्राज्ञ निमाघ्याम्छो वल,वरिष्ठ लेखक,अनुसन्धानकर्ता एवं पत्रकार अजितमान तामाङ,लेखक,अनुन्धानकर्ता एवं तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रविन्द्र ग्यावक,एमाले युवा नेता भक्तकुमारी लामा,जेनिश लामाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिका अध्यक्ष गजुर्धन राई,उपाध्यक्ष जगत दोङ,तामाङ पत्रकार संघका अध्यक्ष सुवास योञ्जन,महासचिव तिर्थमान वल,प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा,कांग्रेस काभ्रे सचिव गुणराज मोक्तान,तामाङ कलाकार संघका सल्लाहकार सञ्जिव वाइबा,अध्यक्ष विश्व दोङ,तामाङ डाजाङका पूर्व अध्यक्ष बुद्ध योञ्जन,डाजाङ अध्यक्ष फूलकुमार बम्जन,वरिष्ठ निर्देशक सञ्जय वल,तामाङ चलचित्र संघका महासचिव सुनिता लुङबा,एमाले तेमालका नेता सुरेन्द्र दोङ तामाङ,निर्देशक रोशन फ्युबा,विनय दोङ,लगायत पत्रकार,कलाकार,राजनीतिक दलका नेता,अभियन्ताले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले स्वर्गीय दिपेन्द्र दोङ बहुप्रतिभाशाली व्यक्ति रहेको बताउँदै पत्रकारिता,कला,साहित्य क्षेत्रले अतुलनिय क्षति बेहोरेको धारणा राख्नुभयो ।
दोङका कृति कर्मले सञ्चार,कला,साहित्य क्षेत्रमा अमर रहने बताउँदै उहाँहरुले बाँकी सपना पुरा गर्न सबैमा प्रेरणा मिल्ने उल्लेख गर्नुभयो ।
तत्कालीन तामाङ सञ्चार समूहका संस्थापक सचिव, महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नु भएका दोङ काभ्रेको तिमालस्थित कल्लेरीमा २०३६ चैत ९ गते जन्मनुभएको थियो ।
नेपाल समाचारपत्र, रेडियो सगरमाथा, रेडियो एचबिसी, टाइम्स एफएम, इमेज च्यानल, सिटिजन एफएम, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक, न्युज २४ टेलिभिजन, जनता रेडियोको स्टेसन मेनेजर, जनता टेलिभिजनमा एक्ज्युकेटिभ प्रोड्युसरका रुपमा काम गरिसक्नुभएका उहाँ पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृत तथा सम्पादक, सरलरेखा डट कममा प्रधानसम्पादक रुपमा कार्यरत हुनुहुन्थ्यो । विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय तामाङले पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्तानकोत्तर गर्नुभएको थियो ।
साहित्यमा कथा, गीत, गजल, कवितामा प्रशस्त कलम चलाउनुभएका उहाँको ‘नाम्सारी’ तामाङ उपन्यास, ‘हिमपुत्री’ उपन्यास, ‘मध्यारातको घाम’ नेपाली गीति संग्रह, ‘वेदनाका लहरहरु’ नेपाली गीति संग्रह, ‘शंका’ नेपाली एकांकी नाटक, ‘जेसुम’ तामाङ गीति नाटक, २०६९ प्रकाशित छन् ।
तामाङ चलचित्र लेखन तथा निर्देशनसमेत गर्नुभएका उहाँले अभिनय समेत गर्नुभएको थियो । उहाँले मयुङ बुरिङ तामाङ चलचित्र र चाङ्छार तामाङ चलचित्र लेखन तथा निर्देशन गर्नुभएको थियो । पत्रकारितामा विभिन्न पुरस्कारसमेत प्राप्त गर्नुभएका उहाँ पछिल्लो समय अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ ईन्जाको एसिया च्याप्टरका महासचिव चयन हुनुभएको थियो ।
स्वर्गीय दोङको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।