
‘मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो छ। थोरै मन्त्रालयहरु छन्, धेरै दलहरु छौँ,’ उनी भन्छन्, ‘दलहरुभित्र पनि आकांक्षीहरु धेरै हुनुहुन्छ। त्यसैले केही दिन त लाग्छ नै।’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुका बीचमा समझदारी जुटाउनेबारे सैद्धान्तिक सहमति गरेपछि मन्त्रालय बाँडफाँटका बारेमा छलफल सुरु हुने पनि महामन्त्री थापाले बताए।
महामन्त्री थापाले लामो समयदेखि मन्त्रालयहरु नेतृत्वविहीन भएको हुँदा समयको दबाबलाई सत्ता गठबन्धनमा रहेका दलहरुले ध्यान दिनुपर्नेमा जोड दिए। विश्वासको मत दिएका प्रायः दलहरु सरकारमा सहभागी हुन इच्छुक रहेका थापाको भनाइ छ।
‘केही दलहरुले प्रधानमन्त्रीसँग मात्रै कुरा गर्नुभएको अवस्था छ। विश्वासको मत प्रधानमन्त्रीले लिनुभएकाले कतिपय कुराहरुको निधो उहाँले गर्नुपर्ने हुन्छ,’ सरकारमा कुन कुन दलहरु जान्छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘तै पनि मोटामोटी सबै दलहरु सरकारमा सहभागी हुन इच्छुकै रहेको मैले आभास पाएको छु।’
प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जानेबारे औपचारिक निर्णय गरिसकेको छैन भने नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीको रिहाइलगायतका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ। विश्वासको मत दिएको अर्को दल राष्ट्रिय जनमोर्चा भने सरकारमा जान इच्छुक देखिँदैन।
यद्यपि, संसदको ठूलो दल कांग्रेस र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र रास्वपालाई बाहिरै राखेर मन्त्रिपरिषद् विस्तारको मनस्थितिमा देखिएका छन्। कांग्रेसका एक नेता रास्वपालाई उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी गराउने गरी अहिले मन्त्रिपरिषद् विस्तार हुने दाबी गर्छन्।
‘अहिले स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी नगराएरै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ कांग्रेस सभापति शेरबहादुर देउवानिकट ती नेता भन्छन्, ‘उपनिर्वाचनपछि उहाँहरु सरकारमा आउनुहोला। २ मन्त्रालय अहिले प्रधानमन्त्री मातहत नै रहने सम्भावना छ।’
कांग्रेसलाई ८ मन्त्रालय दिएर प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपालाई २/२ तथा मधेशवादी दलहरुलाई १, डा. बाबुराम भट्टराईको दल समाजवादी पार्टीलाई १ र १ मन्त्रालय स्वतन्त्र सांसदलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्ने ती नेताको भनाइ छ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको सुनिश्चितताका लागि लचक भएर पनि मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने मनस्थितिमा रहेका पनि ती नेताले बताए।
विश्वासको मत लिनुभन्दा एक् दिनअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संसद् भवनमै छलफल गरेका थिए।
कांग्रेस महामन्त्री थापा पनि प्रतिनिधि सभामा रहेको अंकगणितसँग नसुहाउने गरी दलहरुले मन्त्रालयमा दाबी गर्न नहुने बताउँछन्। अस्वाभाविक रुपमा दलहरुले मन्त्रालयमा दाबी गरे समस्या सिर्जना हुने उनको भनाइ छ।
‘संसदभित्र जस्तो खालको हाम्रो अंकगणित छ, त्यसलाई नसुहाउने गरी हामीले दाबीहरु प्रस्तुत गर्न थाल्यौं भने र दाबी नसुहाउँदो भयो भने जबरजस्ती दाबीलाई बेहोर्नु पर्ने परिस्थिति निर्माण गर्न थालियो भने सुरुदेखि नै समस्या सिर्जना गर्छ,’ महामन्त्री थापा भन्छन्।
गठबन्धनले परिणाम देओस् भन्नका लागि सरकारको स्थिरितामा कसैले पनि शंका व्यक्त नगर्ने अवस्था बनाउनु पर्नेमा उनको जोड देखिन्छ। संसदमा रहेको अंकगणितको आधारमा मन्त्रालयमा दाबी प्रस्तुत गरे मन्त्रिपरिषद् विस्तारमा कठिनाइ नहुने थापाको भनाय छ।
‘सबै दलहरुले यो बेलामा कुन दल कहाँ बाट आयो भनेर होइन कि आजको यथार्थमा हाम्रो संसदमा कुन दलको अहिलेको अंकगणित कस्तो अवस्थामा छ, यसको आधारमा मात्र दाबी प्रस्तुत गर्ने मन बनायौं भने सजिलोसँग जान्छ,’ थापा भन्छन्, ‘मैले हजुरबाको पालमा घ्यु खाएको थिएँ अहिले हात सुँघ्छु भन्न थाल्यौँ भने अप्ठ्यारो हुन्छ। यसले समस्या ल्याउँछ।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तार र पार्टीको सहभागिताका बारेमा मंगलबार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँग छलफल गरेका छन्। उनीनिकट मानिने सांसद रामहरि खतिवडाले सरकार विस्तारबारे प्रधानमन्त्री र सभापतिसँग खड्काले छलफल गरेको जानकारी दिए।
‘कांग्रेस सरकारमा जाने कुरा सायद भोलि (बुधबार) र पर्सि (बिहीबार) मा हुन्छ,’ उनले भने, ‘आज (मंगलबार) बिहान उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीसँग भेटेर सभापतिसँग छलफल गर्नुभएको छ।’
केशव सावद nepalkhabar.com