काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिन १० दल सहमत भएका छन् । सत्ता गठबन्धनका १० दल उपराष्ट्रपतिको निर्वाचनमा झैं विभाजित नहुने भएका हुन् ।

बालुवाटारमा शनिबार सम्पन्न गठबन्धनका शीर्ष नेताहरुको बैठक आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र चैत ६ गते सोमबार सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनाउन सफल भएको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता बसेको बैठकले यो सहमति गरेको हो ।

एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताएपनि उपराष्ट्रपति निर्वाचनमा खटपट देखिएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा एक ठाउँँमा देखिएको नेपाली कांग्रेससहित ८ दलको गठबन्धन पछिल्लो समय १० दलीय बनेको थियो । एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस !