
भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेवेशी स्थित सगुन विद्या मन्दिरको कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर अशक्त वृद्धलाई सहयोग गरेका छन् ।
विद्यार्थीहरुले दिवा खाजाको लागि ल्याएको पैसाबाट दैनिक रुपमा केही पैसा छुट्याएर शारीरिक रुपमा अपाङ्ग,लामो समयदेखि थलामा बस्दै आएका स्थानीय ९० वर्षिय वृद्ध टंक बहादुर खनाललाई रु १५०० आर्थिक सहयोग गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै छात्रा सकिना लामाले यसरी अपाङ्ग र वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि आफूहरु सामाजिक र मानव हितको कार्यमा निरन्तर सक्रिय रहने सकिनाको भनाई थियो ।
विद्यार्थीहरु शिक्षित मात्र नभइ भावी दिनहरुमा गाउँ,समाज र देशको लागि नैतिकवान,योग्य नागरिक बनाउने कार्यमा सगुन विद्या मन्दिर क्रियाशिल रहने शिक्षक विवेक कुमार तामाङले बताउनुभयो ।
सगुन विद्या मन्दिरले यसरी आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा मात्र नभएर यसरी नैतिक,संस्कार सहितको शिक्षामा विशेष जोड दिदै आएको छ ।