काठमाडौं–कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।

भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई,रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ,राजन खतिवडा, सरोज अर्याल,सरिता गिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भुमिकामा हेर्न सकिन्छ ।

‘भुकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो,तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निमाणतिर कसैको ध्यान गएन’,फिल्मको कथाबस्तूबारे निर्देशक वलले भने,‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् ।

निर्माताको रुपमा कतारबाट माया केसी,बेलायतबाट दिपक श्रेष्ठ,इजरायलबाट चन्द्रमाया तामाङ,जापानबाट उदय लामा,अमेरिकाबाट रोज लामा,कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ,तेन्जिन सोनाम लामा,अजितमान तामाङ,गणेश थापा,अशोक थापा,विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन,अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत,निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !