
आयोजना समुदायमा हस्तान्तरण
काभ्रे–बेथानचोक गाउँपालिका वडा नं.६ को सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजनाबाट २ सय २३ घर धुरीका १ हजार ३ सय ३७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
कूल १ करोड ९३ लाख ६३ हजार २५७ रुपैया लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट स्थानीय जनता लाभान्वित भएका हुन् ।
आयोजनाका लागि गाउँपालिकाको रु.४९ लाख २२ हजार ६ सय ४६, रोटरी क्लब बौद्धको रु.९२ लाख ७३ हजार ९ सय ४३, समुदायबाट रु. ६ लाख ९९ हजार र जनश्रमदान रु.४७ लाख ६७ हजार ६६७ बजेट जुटेको थियो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को प्राविधिक सहयोगमा २०७८ भदौ महिनामा शुरु भएको आयोजना २०७९ पुषमा सम्पन्न भएको हो ।
आयोजनाको बिहिबार गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच उद्घाटन गर्नुका साथै समुदायमा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भगवान अधिकारीले एक गाग्री पानीको लागि पूरै बिहान माया मानुपर्ने र वस्तुभाउलाई अड्कली अड्कली मात्रै पानी खुवाउनुपर्ने दूरावस्थाबाट बेथानचोक चाडै मुक्त हुने बताउनु भयो ।
नेपालको संविधानले धारा ३५(९४०) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको भए पनि खानेपानी कै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विगतका विडम्बना भएको उहाँको भनाई थियो ।
तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको बताउनु भयो । बेथानचोकका पानी मुहानको सुरक्षा गर्दै हरेक बस्तीमा एक घर एक धाराको अवधारणा साकार पार्दै जानुपर्नेमा जोड दिनु भयो ।
आयोजनका अध्यक्ष राम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोटरी क्लब बौद्ध,रोटरी क्लब स्कटल्याण्डका प्रतिनिधिहरुले मन्तव्य राख्नु भएको गाउँपालिकाका प्रेस सल्लाहकार शुभराज अधिकारीले जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।