
काभ्रे–धुलिखेल नगरपालिकाले शुक्रबार ३७ औं स्थापना दिवस मनाएको छ । सांस्कृतिक र्याली,नगरलाई योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान लगायतका कार्यक्रम गरी यो दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अशोक व्याञ्जुले धुलिखेल नगर नमुना नगरको रुपमा स्थापित रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सबैको ध्यान खिच्नुमा नगरमा विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक,सामाजिक,आर्थिक क्षेत्रको विकास रहेको उहाँको भनाई छ ।
धुलिखेल नगर खानेपानी,स्वास्थ्य,शिक्षा,,पर्यटन,सडक पुर्वाधार,गरीवि उन्मुलन उन्मुख योजना र तिनको कार्यन्वयन,विभिन्न नीतिहरुको निर्माण तथा दर्जुमाको सवालमा अब्बल भएकै कारण यहाँ भएको उपलब्धी अरुका लागि सुन्न र सुनाउन लायक रहेको धारणा राख्नुभयो ।
नगर उपप्रमुख निराजन जंगले पनि धुलिखेल नगरको नमुनायोग्य कामहरुकै कारण अन्य स्थानीय सरकार तथा देशहरुहरुकै लागि यो नगर अध्ययनको केन्द्र बनेको बताउनुभयो ।
नेपाल सरकारबाट कृतिमान राष्ट्रदीप पुरस्कारबाट विभुषित हुनुभएका काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति एवम् धुलिखेल अस्पतालका संस्थापक प्रो.डा.रामकण्ठ माकजु श्रेष्ठको प्रमुख अतिथ्यतामा धुलिखेल सभाहलमा आयोजित स्थापना दिवस समारोह पूर्व स्थानीय जातजातिको पहिचान झल्किने सांस्कृतिक झाँकी सहितको र्यालीद्वारा नगर परिक्रमा गरिएको थियो ।
सोही क्रममा नगर प्रमुख व्याञ्जुद्वारा नगरपालिकाले निर्माण गरेको सपिङ्ग कम्प्लेक्स र साक्षरता स्तम्भको उद्घाटन गरिएको थियो ।
मूल समारोहमा नगरपालिकाद्वारा प्रकाशित पुस्तक ‘यात्रा सम्बृद्धिको ’ बिमोचन गरिनुका साथै समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा बिद्यालयलाई मानपदवी तथा प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
यो पटक धुलिखेल रत्नबाट धुलिखेल अस्पतालका विशेष चिकित्सक डा.रामबहादुर गुरुङ, धुलिखेल नक्षत्रबाट पूर्व जनप्रतिनिधिहरुको तर्फबाट पूर्व नगर उपप्रमुख सुवासकाजी श्रेष्ठ, धुलिखेल प्रज्ञाश्रीबाट सामाजिक क्षेत्रमा कार्यरत व्यक्तित्व हरिभक्त खोँजु, धुलिखेल सेवाश्रीबाट धुलिखेलको होटल सारथी,धुलिखेल ताराबाट गौरीशंकर साना किसान कृषि सहकारी,अरविन माकजु,रोटरी क्लब अफ धुलिखेल,ईलमचा छें,श्री नेपाल अटोमोवाईल एशोसियसन सम्मानित भएका हुन् ।
जनसेवाश्रीबाट पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईँ कर्मचारीको तर्फबाट श्रीविक्रम ब्याञ्जु सम्मानित हुनुभयो । दीर्घ सेवा सम्मानबाट मन्दिलकृष्ण श्रेष्ठ, उद्धवप्रसाद हुमागाईँ, सूर्यबहादुर तामाङ र हरिचन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तर स्वेच्छीक रुपमा भत्ता नलिने घोषणा गर्ने धुलिखेल ५ का हरिमाया प्रधान, सानुकाजी प्रधान र भोजकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
स्थानीय संस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुतीसहितको कार्यक्रमका बिच नगरपालिका क्षेत्र भित्रका बाबुआमा विहिन बालबालिकाहरुलाई नगद सहयोग र सम्मान गरिएको थियो ।
बाबुआमा विहीन नगर भित्रका २१ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति ४ हजार ५ सय ७५ रुपैयाँका दरले सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा,पूर्व उपकुलपति प्रा.डा.शुरेशराज शर्मा,जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङ,बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य,रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइबा(ज्वाला) लगायत विभिन्न स्थानीय तहका प्रतिनिधिहरु,रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ ,गैरसरकारी संस्था महासंघकी अध्यक्ष गंगा दोङ,विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु,महिला स्वास्थ्य स्वेम्सेवीकाहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।