• अशोकबुद्ध लामा

काभ्रे–नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीमा अवस्थित सगुन विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा ‘सगुन सँगालो’ नामक मासिक भित्ते पत्रिका प्रकाशनको शुभारम्भ भएको छ ।

विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभाहरुलाई उजागर गर्ने र गराउने उद्धेश्यका साथ यो पत्रिका प्रकाशन थालिएको पत्रिकाकी सम्पादिका सिम्रीका अधिकारीले बताउनुभयो ।

पत्रिकामा विद्यार्थीहरुद्वारा लिखित कविता,गजल,गीत,मुक्तक,चुट्किला,कथा,सामान्य ज्ञान,सुसेली निबन्ध र विभिन्न समसामयिक ज्ञानबर्धक लेख रचनालाई समावेश गरिएको छ ।

यसलाई विद्यार्थीहरुले ड्रइङ पेपरमा हातले लेखेर सुन्दर र आकर्षक ढङ्गले तयार पारेका छन् । अधिकारीका अनुसार हाम्रो समाजमा विद्यमान विभिन्न कुरीती र कुसंस्कारप्रति जनचेतना जगाएर सकारात्मक सन्देश फैलाउनु पनि यसको उद्धेश्य रहेको छ ।

‘भावी दिनमा धूम्रपान,मद्यपान,बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कारलाई न्यूनीकरण गराउन सडक नाटक गर्ने तयारी पनि रहेको छ ।’–सम्पादिका अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !