काठमाडौं– नयां संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । ४ मंसिरको चुनावबाट जम्मा ३२ सिट जितेको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

७८ सिट जितेको नेकपा एमालेका साथै माओवादी केन्द्रको ३२,राष्ट्रिय स्वतन्त्र पार्टीको २०,राष्ट्रिय प्रजातन्त्र पार्टीको १४,जनता समाजवादी पार्टीको १२,जनमत पार्टीको ६,नागरिक उन्मुक्ति पार्टीका ४ र अन्य ३ स्वतन्त्र सांसदको समर्थन प्रचण्डलई मिलेको छ ।

१६९ सांसदको समर्थन पाएका प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

किङ मेकर को हुन् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भन्ने गर्नुहुन्थ्यो ‘मैले कांग्रेस र एमालेका धेरै साथीहरुलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको छु ।’झलनाथ खनाल र केपी शर्मा ओलीलाई आफैँले प्रधानमन्त्री बनाएको प्रचण्डको भनाइ थियो ।

त्यतिमात्रै होइन,बालुवाटारबाट बिदा हुन लागेका शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाएको जश माओवादी अध्यक्ष प्रचण्डलाई नै जान्थ्यो । त्यही भएर प्रधानमन्त्री बनाइदिने किङ मेकर नै मानिनुहुन्थ्यो प्रचण्ड ।

अहिले उहाँ १४ वर्षपछि फेरि एमालेकै साथ मिलेर तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको छ । यसपटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले पहलकदमी लिएको हो ।

कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन नभएपछि प्रचण्डलाई एमालेले विश्वास दिलाएर प्रधानमन्त्री बनाउन भूमिका खेलेको थियो ।

आइतबार एमालेको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)राप्रपा,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदको समर्थन जुटाउने बैठक ओली निवास बालकोटमा बसेको थियो । त्यही बैठकले प्रचण्डलाई साढे २ वर्ष प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । यो समेत एमालेको प्रस्तावमा माओवादीले दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर पनि पाएको छ ।

२०६५ पहिलो पटक भएको संविधान सभाको चुनावमा सबैभन्दा ठूलो दल बनेको माओवादीलाई सरकार बनाउन एमालेले समर्थन गरेको थियो । तर, प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन गर्नबाट तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले रोक्नुभएको थियो ।

उहाँले कटुवाललाई थमौती नै गरेपछि सरकारका लागि प्रष्ट बहुमत हुँदाहुँदै पनि सरकार बनेको ९ महिनामै प्रचण्डले राजीनामा दिनुभएको थियो ।

त्यसपछि २०७४ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए तर त्यसबेला कांग्रेसको समर्थन थियो । संसदीय राजनीति थाले यता (२०६४) देखि माओवादी केन्द्रले चार पटक सरकारको नेतृत्व गरेको छ ।

प्रचण्ड २०६५ र २०७४, डा. बाबुराम भट्टराई २०६८ र अहिले फेरि प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । यो पटकको किङ मेकर एमाले अध्यक्ष ओली बन।नुभएको छ । –नेपाल खबर अनलाइनमा खबर छ ।

प्रतिक्रिया दिनुहोस !