काठमाडौं–काभ्रेको बनेपास्थित चण्डेश्वरी साकोसलाई नेफ्स्कूनले यसै वर्ष बागमति प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा पनि पुरस्कृत गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुक्रबार सम्पन्न नेफ्स्कूनको ३१औँ वार्षिक साधारण सभामा सभाका प्रमुख अतिथि भूमि व्यवस्था,सहकारी तथा गरीवि निवारण मन्त्री शशी श्रेष्ठको हातबाट पुरस्कृत भएको हो ।

उक्त दुवै विधाको पुरस्कार संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठ सहितको उपस्थित प्रतिनिधिलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल

चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल भएको छ । पछिल्लो पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएको भएता पनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको छ । पछिल्लो पटक २०७६ को एक्सेस अडिटमा पनि यस संस्थाले ब्राण्ड पाएको थियो ।

यस वर्ष (२०२२/२०२३) एशियाली स्तरको स्तरीकरण कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मात्रै एक्सेस ब्रोञ्ज (कास्य स्तर) ब्राण्ड प्राप्त गर्न सफलभएको छ । एक्सेस ब्राण्डको घोषणा एशियाली ऋण महासङ्घको नोभेम्बर माप्रकाशितअक्कू न्यूज लेटर मार्फत गरिएको थियो । चण्डेश्वरी बाहेक अन्य सहकारीहरुले अन्तिम परीक्षण नै गराएका थिएनन् ।

नेपालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहकार्यमा एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एक्सेस कार्यक्रम एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीयपक्ष, सदस्यतापक्ष, आन्तरिक कार्य सञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागतविकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि नेफ्स्कूनले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !