कुन वडामा कतिले लिए सेवा ?
तेमाल-काभ्रेको तेमाल गाउँपालिकाले सबै वडाहरुमा स्वास्थ्य शिविर अभियान सञ्चालन गरिरहेको छ । पालिकाको पोखरी नारायणस्थानबाट शुरुवात गरिएको अभियान अन्य वडाहरुमा जारी छ ।
४० वर्ष भन्दा माथिका उमेर समूहलाई लक्षित गरि आयोजना गरेको सो शिविरमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण भइरहेको हो ।
शिविर अभियानको अन्तरगत वडा नं ६ मा भईरहेको शिविरको हालै गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गर्नुभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, वडा नं ५ का वडा अध्यक्ष हजारसिं लामा, वडा नं ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, शिक्षा शाखाबाट भिम दोङ, माओवादी केन्द्रका ६ नं वडा अध्यक्ष शैलेन्द्र तामाङ लगायतको सहभागीतातामा निरिक्षण गरिएको हो ।
निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारेमा लाभग्राहीहशरुसँग प्रतिक्रिया समेत लिनुभयो ।
शिविरको निरिक्षण पछि गाउँपालिका अध्यक्ष लामाले तेमाल गाउँपालिकामा सञ्चालन भएको यो शिविर निक्कै महत्वपूर्ण भएकोले आगामी दिनमा स्वास्थ्य नीति बनाउन यो शिविरले मार्गदर्शन गर्ने बताउनुभयो ।
‘हामीले विभिन्न उमेर समूहको जनताको स्वास्थ्य अवस्था पत्ता लगाउन र तत्काल सेवा प्रदान गर्नका लागि यो शिविरको आयोजना गरेका हौं ।’ अध्यक्ष लामाले भने, ‘तेमालमा स्वास्थ्य नीति बनाउन र जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो शिविरले हामीलाई मार्गदर्शन गर्नेछ ।’
लामाले शिविरबाट जनताले बढी लाभ लिइयोस भन्ने आफूहरुको चाहना भएकोले पनि बताए । ‘एकै पटक यति धेरै विषयको स्वास्थ्य परिक्षण गरेको यो पहिलो पटक हो । जनताको आर्थिक अवस्था र आवश्यकतालाई मध्य नजर गरेर यो शिविरको आयोजना गरेको हो ।’ उनले भने, ‘अस्पताल वा कुनै क्लीनिकमा गएर यतिको स्वास्थ्य जाँच गर्दा हजारौं रुपैयाँ खर्च हुन्थ्यो । आज घर आँगनमै सेवा दिएका छौं ।’
यसैबीच शिविरमा पुगेका उपाध्यक्ष थोकरले जनताको स्वास्थ्य प्रति तेमाल गाउँपालिका निक्कै गम्भिर रहेको बताउँदै यो शिविरले सोचेको भन्दा बढी उपलब्धि हाँसिल गरिरहेको बताउनुभयो । ‘यो शिविरबाट तेमालका हजारौं जनताले सेवा लिने मौका पाइरहेको छ । प्रत्येक वडामा आधुनिक ढंगले जनताको स्वास्थ्य परिक्षण भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘जनताको स्वास्थ्य प्रति गाउँपालका निक्कै गम्भिर छौं । जनताको घरदैलोमै यस्तो सुविधान दिन सफल भएकोले हामीले सोचेको भन्दा निक्कै उपलब्धि भइरहेको छ ।’
शिविरमा स्वास्थ्य जाँच गर्दा धेरैजसो ब्लब प्रेसारको विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो । अब ब्लड प्रेसर पिडितहरुको लागि चाँडै योजना बनाएर औषधि वितरण गर्ने कार्यक्रम पनि ल्याउने उहाँले बताउनुभयो ।
कुन वडामा कतिले लिए सेवा ?
प्रत्येक वडामा २ दिनसम्म सञ्चालन भइरहेको शिविर बुधबारसम्म ४ वडामा सञ्चालन भइसकेको छ भने वडा नं ६ मा बिहिबार सञ्चालन भइरहेको शिविरमा संलग्न सिनियर अनमि मिना मोक्तानले जानकरी दिनुभयो । अहिलेसम्ममा ७ सय ५५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मोक्तानका अनुसार वडा नं. ५ मा २ सय ३८ जना, वडा नं ७ मा ३ सय ८०, वडा नं ८ मा २ सय २६ जना, वडा नं ९ मा ३ सय ३५ जना, वडा नं ६ मा १ सय ५७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।