बिहीबारसम्म संख्या बढ्न सक्ने

काठमाडौं–२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित संसद सदस्यहरु मध्ये २६ जनाले मातृभाषामा सपथ लिने भएका छन् ।

बिहीबार दिउँसो १ बजे शपथ लिने संघीय संसद सचिवालयको कार्यक्रम अनुसार २६ जनाले तामाङ भाषादेखि संस्कृतिसम्मका भाषामा सपथ लिन नाम लेखाएका हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । नाम लेखाउने समय अझै बाँकी रहेकोले संख्या बढ्न सक्ने देखिन्छ ।

संविधानमा व्यवस्था भए अनुसार मुलुकको विभिन्न जातजाति,समुदाय,भाषाभाषीको प्रतिनिधित्व झल्किने गरी मातृभाषामा सपथ लिन तयार भएका हुन् ।

नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ तामाङ,मिना तामाङ र हितबहादुर तामाङले तामाङ भाषामा सपथ लिन नाम लेखाउनुभएको छ ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट संयुक्त रुपमा चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिन चाहानुभएको छ ।

त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनुहुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद असिम शाहले नेपाली र मुस्लिम,रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि,मनिष झाले मैथली,सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिन नाम लेखाउनुभएको हो ।

थारु भाषामा राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारु र स्वतन्त्र सांसद लालवीर चौधरी सहित ६ जनाले थारु भाषामा शपथ लिने तय भएको छ ।

जनमत पार्टीका सोनु मुर्मुले सन्थाली,चन्द्रकान्त राउत,बिनिता कुमारी सिंह र अनिता देवीले मधेशमा प्रचलित मध्ये एक मधेशी भाषामा शपथ लिनुहुने भएको छ ।

संसदका ८१ वार्षिय ज्येष्ठ सदस्य शुपति शमशेर जबराले राष्टपति विद्यादेखि भण्डारीबाट बुधबार सपथ लिनुभएको छ । संस्दका अन्य सदस्यहरुले बिहीबार जबराद्धारा सपथ ग्रहण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस !