‘यो जनताको अभियान हो, कसैले रोकेर रोकिन्न’

महाभारत–काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले स्थानीय निर्वाचनताका जनाएका प्रतिबद्धता मध्ये ‘उज्यालो महाभारत’का लागि विद्युत मिटर बक्स वितरण कार्यलाई तिब्रता दिनुभएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष जिम्बाले महाभारत ५ का जनतालाई मिटर बक्स वितरण गर्नुभयो । यसअघि गाउँपालिकाले वडा नम्बर ३ र ४ मा मिटर बक्स वितरण गरिसकेको गाउँपालिकाले छुटेका र बाँकी वडाहरुलाई पनि अर्को चरणमा वितरण गर्ने जनाएको छ ।

शुक्रबार मात्रै अध्यक्ष जिम्बाले ३ सय ५५ थान मिटर वक्स वितरण गर्नुभएको हो भने वडा नं.३ र ४ मा ५ सय ९७ थान वितरण कार्य भइसकेको छ । उक्त मिटर खरिदका लागि प्रतिघर १ हजार रुपैयाँ गाउँपालिकाको सहयोग रहेको छ । अहिलेसम्म करिब १ हजार घरदुरीलाई मिटर बक्स वितरण गरिसकेको अध्यक्ष जिम्बाले जानकारी दिनुभयो ।

मिटर बक्स वितरण कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर सरोज पराजुली,वडा अध्यक्ष विजय राना लगायतको उपस्थित रहेको थियो ।

‘यो जनताको अभियान हो, कसैले रोकेर रोकिन्न’

नेपाल विद्युति प्राधिकरणको केन्द्रिय प्रसारण लाइनबाट धेरै टाढा महाभारत गाउँपालिकालाई ‘उज्यालो महाभारत’ बनाउने अभियान कम चुनौतीपूर्ण नरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको अनुभव छ ।

निकै चुनौतीका साथ अघि बढेको यो अभियानमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष जिम्बाले भन्नुभयो–‘यो पबित्र कार्य रोक्ने हर कोसिस पनि नभएको होइन यस्को यथेस्ट प्रामाण हामी संग सुरक्षित नै छ,नआत्तिनोस् महोदय यो जनताको अभियान हो, कसैले रोकेर रोकिन्न ।’

आफूहरुको सचेतपूर्ण पहलले नै अब ‘उज्यालो महाभारत’को कार्य अन्तिम चरणमा पुगेको उहाँले स्पष्ट पार्नुभयो ।
पालिका अध्यक्ष जिम्बाको पहलमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाईन बिस्तारको लागि नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरेको थियो ।

अध्यक्ष जिम्बाले आफ्नो प्रतिबद्धता अनुसार अगाडि बढेपछि महाभारत गाउँपालिकामा विद्युतको कामले तिब्रता पाएको हो । प्रसारण लाइन जोड्ने काम सकिएपछि अहिले मिटर बक्स फिटिङ तथा वितरण कार्य तिब्र रुपमा भईरहेको हो ।

अध्यक्ष जिम्बाले भन्नुभयो–‘अब सबै घर–घरमा मिटर वक्स राख्ने कार्य सम्पन्न भएपछि विजुली बत्ति बल्ने छ ।’

अध्यक्ष जिम्बाका अनुसार ‘उज्यालो महाभारत’को यात्रा वडा नं.३, ४ र ५ बाट शुरु हुनेछ । यो अभियानको सफलतापछि महाभारत गाउँपालिकाको करिब ३३ सय घरधुरी अब विजुली बत्तिको उज्यालोमा बस्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस !