सुर्खेत–वीरेन्द्रनगर ३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई वि.सं. २०७९ को नारायण भागीरथी सेवा सम्मान प्रदान गरिएको छ । बुधबार आयोजिक एक कार्यक्रमकाबीच प्रमुख अतिथि सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधवप्रसाद खनालले उक्त विद्यालयलाई नगद रु. १५००० सहितको सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पितृप्रति श्रद्धा र सम्मान अर्पण गरिने नयाँ किसिमको यो कार्यक्रम शैक्षिक जागरण र सामाजिक सेवाको प्रशंसनीय उदाहरण रहेको बताउनुभयो ।

समाजका संरक्षक प्रा.डा. जीवेन्द्र देव गिरीले सुर्खेत उपत्यकाका विभिन्न विद्यालय, पुस्तकालय, वृद्धाश्रम र बालविकास संस्था तथा लोकवार्ता परिषद्, नेपाल लगायत बाह्रओटा सङ्घसंस्थालाई यो सम्मान प्रदान गरिसकिएको जानकारी दिनुभयो । उहाँले केही महत्त्वपूर्ण कृति प्रकाशन र विद्यालयलाई शैक्षिक सामग्री पनि संस्थाबाट उपलब्ध गराइएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले समाजबाट विद्यालय सम्मानित भएकोमा हर्ष प्रकट गर्नुभयो । कार्यक्रममा वीरेन्द्र नगर वडा नं.३ का तर्फबाट वडा सदस्य सरस्वती थापा रोकायले शुभकामना व्यक्त गर्नु भएको थियो ।

समाजका अध्यक्ष गोपालदेव गिरीले संस्थाले निकट भविष्यमा पुस्तकालय समेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै लक्ष्मणदेव गिरी र धन्यवाद ज्ञापन गर्दै डिलाराम गिरीले संस्थाको क्रियाशिलतामा सकारात्मक उर्जा प्रवाहका लागि आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक,शिक्षक,साहित्यकार,कलाकार, समाजसेवी, राजनीतिकर्मी र स्थानीय महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सहजिकरण गरेका हुपेन्द्र प्रसाद गिरीले आगामी दिनहरुमा पनि यस खालको कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !