
काठमाडौं–मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदानको नतिजा आउन आठ दिन लाग्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले आठ दिनभित्र सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको उहाँले जानकारी दिनुभएको हो ।
मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने उहाँको दाबी छ ।
अहिलेसम्म प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ ३ क्षेत्रको परिणाम आईसकेको छ । पछिल्ला परिणाम अनुसार नेपाली कांग्रेसले ५ क्षेत्रमा जितेको छ भने २ वटा क्षेत्रमा एमालेले जित निकालेको छ ।
मतगणना भईरहेको क्षेत्रहरुमध्ये कांग्रेसले ४७ र एमालेले ४३ ठाउंमा अग्रता लिईरहेको छ । माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ स्थानमा अग्रता कायम राखेका छन् ।