
बनेपा–दलहरुले सुकुम्बासी,आदिवासी जनजाति दलित समुदाय तथा किसान वर्गलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको आरोप यहाँ पनि लाग्ने गरेकै छ । यो पटक मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदै गर्दा काभ्रेका यी समुदाय र वर्गले लोकतान्त्रिक बाम गठबन्धनलाई यहि प्रश्न सोधेका छन् ।
आफूलाई लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेस,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि पनि आफूलाई सदैव आदिवासी जानजाति र दलित समुदायको मुद्धाको एकमात्र पहरेदार ठान्ने माओवादी केन्द्र आफैंले सत्ताको बागडोर लिएपछि के गरे त्यो जनताले छर्लङ्ग बुझेका छन् ।
जनादेशद्धारा गठित केपी ओली नेतृत्वको सरकारलाई ढालेर मुलुकलाई अस्थीरताको खाडलतर्फ लगेका गठबन्धन दलका उम्मेदवारहरुलाई चुनावी घरदैलो अभियानका क्रममा जनताको प्रश्नको जवाफ दिन नसकेर सकस पर्यो ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा उहाँको नेतृत्वको तात्कालिन सरकारले शुरुवात गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय अभियानलाई लत्याएर अघि बढेको सरकारले न किसानलाई समयमै रासायनिक मलको व्यवस्था गर्न सक्यो न त विकास निर्माणले गति नै लियो ।
वास्तवमा गठबन्धन(नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,राष्ट्रिय जनमोर्चा,जसपा सम्मिलित)सरकार बनेको झण्डै दुई वर्ष पुग्न लाग्दा देशभर झैं काभ्रेका नागरिकले सरकार भएको अनुभुति गर्न नपाएको गुनासो यहि बेला स्पष्ट रुपमा सतहमा आएको छ ।
ठुला व्यापारीहरुका लागि अनेकौं नाम दिएर करछुट दिनेदेखि भन्सार सहज गर्ने सम्मका योजना बजेटमा नै वर्तमान गठबन्धन सरकार ल्याउन सफल भयो । तर, आम किसान र तल्लो वर्गका नागरिकका लागि भने ती छुट दिइएका र सहज गरिएका सामग्रीको कुनै महत्व नै छैन र ।
बर्खाको बेला मल नपाएर धेरै क्षति बेहोरेका किसानहरु यतिबेला हिउँदे खेतीका लागि पनि यहि समस्याले छट्पटिरहेका छन् ।
काठमाडौ उपत्यकामा तरकारीजन्य वस्तुको ३५ प्रतिशत बजार ओगटेको काभ्रेका किसानहरु अन्नबालीमा मल हाल्न नपाउँदा उत्पादनमा ह्रास आएको बताउँछन् । यता अन्नबाली लगाउने किसानहरु मात्रै होइन, तरकारी उत्पादन गर्ने किसानहरु पनि गत बैशाखबाट मारमा परेका छन् । मल अभाव बनाएर चुनावी मैदानमा आएका सत्ता गठबन्धनका नेताहरु ‘बेइमानी’ भएको पाँचखालका किसान विनोद अधिकारी बताउनुहुन्छ ।
‘हामीले रासायनिक मल पाएनौँ त्यो चाहियो, चुनाव कसले जित्छ वा हार्छ हामीलाई मुख्य कुरा भएन तर सरकारले यस्तो लाचारी त देखाउनु भएन नि ?’–किसानका यति सामान्य समस्या हल गर्नुपर्ने राज्य किन मौन रहेकोमा आश्चर्यजनक रहेको थापाको भनाई छ ।
अर्का किसान विष्णु सापकोटाले हाम्रो भोट चाइनेले किन मल ल्याउन नसकेको भन्दै प्रश्न गर्नुभयो । उहाँको प्रतिप्रश्न छ–‘गठबन्धनलाई भोट चाँही चाहीने रे, सरकारमा बसेको दुई वर्ष हुन लाग्यो अनि हाम्रो बारी चाँही बाँझो नै होस् जस्तो गर्ने ?’
अन्न बाली लगाउने समयमा नआएको मल अब आलु तथा अन्य तरकारी लगाउने समयमा पनि नपाइने निश्चित नै भएको पाँचखालकी किसान विमला तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो–‘अलिअलि आउँछ, अनि कति पाउँनु कति हाल्नु,अब पाटिको बास बनाउँछन, कस्तो सरकार होला ?
पाँचखाल कै सुनिता दनुवारको पनि पिडा उस्तै छ । उहाँ भन्नुहुन्छ ‘हामीलाई फ्री भिसा होइन,पैसा तिरेर मल चाहीएको छ मल,गरिब किसानमारा सरकारको काम छैन ।’
गठबन्धन दलहरु सत्ताको उपभोगमा मात्रै केन्द्रित देखिन्छ । “गठबन्धन गरेर अझै काले काले मिलेर खाउँ भाले त होलानि ।” -तेमालका एक किसानको आक्रोस छ । गठबन्धनको औचित्य आफूले नबुझेको उनको भनाई छ । नीति र भोलिको नेतृत्वबारे स्पष्ट पार्न नसकेका गठबन्धनबाट स्थीरता र किसान मजदुर जनता अनि देश विकासको आश गर्न नसकिने उनको बुझाई छ ।
किसानलाई नियमित रुपमा आपुर्ति गर्नुपर्ने मल नपाएर किसानहरुले आन्दोलन नै गर्नु पर्यो । राजधानी भित्राइने करोडौँको तरकारी र अन्न बालीमा हालिने मलको चरम अभाव झेलेका किसानका मनले गठबन्धन उम्मेदवारलाई कसरी बुझ्छन् ? त्यो मंसिर ४ गतेको निर्वाचनमा अभिव्यक्त हुन्छ नै ।
किसान जनतालाई चाहिने बस्तुमा कालोबजारी चलिरह्यो,कालोबाजारीयाहरुले एक बोरा मल चार हजार रुपैयाँसम्ममा बिक्री गर्छन् तर सरकार मुकदर्शक बन्न मात्रै सकेको किसान बताउँछन् ।
यसरी समयमा मलसम्म दिन नसक्ने गठबन्धन सरकार,महंगीबाट ढाड सेकाउने सरकार तथा सरकार चलाउने गठबन्धन दलका उम्मेदवारहरु चुनावी अभियानमा गए तर त्यसमा पनि किसान,दलित जनजाती तथा विकासका मुद्धा एजेण्डा बनेन । उनिहरुले आफ्नो घरदैलो अभियान फगत नेकपा एमाले र एमाले नेतृत्वलाई गाली गलौच गरेरै सकाए ।
एमालेका उम्मेदवारहरु विकास र समृद्धिको एजेण्डा बोकेर घरदैलो पुगे,केपी ओली नेतृत्वको सरकारले गरेको राम्रा नीति र काम बताए,केहि समिक्षा गरे अनि नयाँ योजनामाथि विश्वास जोडे ।
जिल्लामा एमालेको तर्फबाट क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा केन्द्रिय सदस्य रेशम लामा,प्रदेशसभा(क)मा जिल्ला नेता दिलिप तामाङ र प्रदेशसभा(ख) मा निवर्तमान प्रदेश सांसद एवं पूर्व मन्त्री चन्द्र लामा निर्वाचनको मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट भने क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका केन्द्रिय सदस्य सूर्यमान दोङ(लालध्वज),प्रदेशसभा(क) मा निवर्तमान प्रदेश सांसद एवं मन्त्री रत्न ढकाल र प्रदेशसभा(ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामा प्रतिस्पर्धामा हुनुहुन्छ ।
गठबन्धनकै तर्फबाट क्षेत्र नं. २ मा कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाईं,प्रदेशसभा(क)मा नेकपा एसका लक्ष्मण लम्साल र प्रदेशसभा(ख)मा नेपाली कांग्रेसका बागमती प्रदेश कमिटि महामन्त्री कञ्चनचन्द्र वादे उम्मेदवार हुनुहुन्छ । गठबन्धनलाई टक्कर दिदै नेकपा एमालेको तर्फबाट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा केन्द्रिय पोलिटव्युरो सदस्य एवं पूर्व मन्त्री निवर्तमान सांसद गोकुल बांस्कोटा,प्रदशेसभा(क) मा एमाले बागमती प्रदेश कमिटि सदस्य कुमार खकुरेल र प्रदेशसभा(ख)मा एमाले बागमती प्रदेश कमिटि सदस्य कुमार थापा चुनावी मैदानमा हुनुहुन्छ ।
काभ्रे एमालेले सडक,खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्य,समाजिक सुरक्षा,जेष्ठ नागरिक,महिला तथा बालबालिका,दलित जनजाति,पर्यटन,युवा तथा शिक्षा लगायतका क्षेत्रमा आफूले गर्दै आएका काम र आमागी नीति र कार्यक्रम जनतामाफ पुर्याए । तर राष्ट्रियताको पक्षमा गरेको ऐतिहासीक कार्य गरेको,विकास र समृद्धिका पक्षमा डटेर लागि परेको एमालेको विरोध मात्रै गरेर गठबन्धन दलका उम्मेदवार किसान,उत्पीडित वर्गको समस्या मुद्धालाई टारेर फर्किएको एमालेजनको आरोप छ ।
यस्तो भान यी समुदाय र वर्गलाई नभएको पनि पटक्कै भन्न सकिन्न । केपी ओली सरकारले गरेको विकासका कामलाई नकारात्मक टिप्पणी मात्रै गरेर नथाकेका गठबन्धन दलको सरकारको अकर्मण्यताका कारण न जिल्लाका भुमिहिन सुकुम्बासीले जग्गा पाए न गठबन्धन दलहरुले जितेको स्थानीय सरकार सम्मले दलित जनजाति र महिला मैत्री नीति,कार्यक्र र बजेट नै ल्याएर कार्यन्यनमा देखिए ।
सरकारको स्वास्थ्य सावधानीका योजना नदेखिएपछि कतिपय नागरिक डेंगु संक्रमणको चपेटामा पनि छन् । नागकिरले दैनिक उपभोग गर्ने खाद्यानलगायतका साममग्री बजारमा अभाव हुन थालेका छन् । अभाव नभएका सामानको मुल्य चर्को बनाइएको छ,सरकार मौनप्रायः देखिन्छ । सरकार नागरिकका लागि हो । तर, त्यो अनुभुति नागरिकले पाएका छैनन् ।
विश्वभर नै नयाँ महामारीको रुप लिएको कोरोना संक्रमण नियन्त्रण र खोपको प्रबन्ध गर्ने दक्षिण एशियाको दोस्रो मुलुक नेपालमा डेंगु संक्रमणले त्रास मच्चाइरहेको छ ।
विकास निर्माणको त कुरै छाडौँ, सामान्य जीवनयापन कष्टकर बनाउन सफल भएको सरकारसँग आम काभ्रेलीले के आशा गर्ने ? सत्तारुढ दलका नेताले दलबलसहित कतिपय आचारसंहिता नाघेरै चुनावी अभियान गरे तर जनसरोकारका विषयमा उठेका प्रश्न गठबन्धन दल,नेता तथा तिनका उम्मेदवारहरुबाट अनुत्तरित छ ।
सन्दर्भ सामाग्री :https://nayachautari.com/archives/728