यस्तो छ तामाङको सफलताको यात्रा

काठमाडौं–दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतमा सिफरिस हुनुभएका दान बहादुर तामाङ तामाङ पत्रकारहरुद्धारा सम्मानित हुनुभएको छ । नव नियुक्त राजदुत तामाङलाई तामाङ पत्रकार संघ बागमती प्रदेश समितिले बुधबार सफल कार्यकालको शुभकामना व्यक्त गर्दै खादा र सम्मानपत्रका साथ सम्मान गरेको हो ।

कार्यक्रममा नवनियुक्त राजदुत तामाङले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको हितमा लागि पर्ने उहाँको भनाई छ । तामाङ पत्रकारहरुले गरेको सम्मानलाई समुदायको तर्फबाट गरिएको सम्मानको रुपमा लिएको उल्लेख गर्दै उहाँले तामाङ समुदायले शिक्षा क्षेत्रमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

“शिक्षा,सीप भए हामीले गरेर खाने ठाउँहरु हुन्छ ।”,–गुनासो धेरै पाल्नुभन्दा सपना देख्न र त्यसलाई साकार पार्न निरन्तर संघर्ष आवश्यक रहेकोमा जोड दिदैं उहाँले भन्नुभयो–“म लमुजुङमा २०१४ सालमा जन्मेर चितवन कर्मथलो बनाएर अघि बढेको मान्छे,काठमाडौं आएर पढें,जापानमा फलाम बोक्ने कामदेखि अमेरिकी प्रोजेक्टसम्मका कामहरुमा जोडिएँ,यहि दौरानमा दिनदुखी,शरणार्थीहरुका बस्ती बस्तीमा पुगेर व्यक्तिगत र संस्थागत रुपमा अभियानहरु चलाएँ,आज यो ठाउँसम्म आइपुग्न यस्ता धेरै संघर्षका कथाहरु छन्,सपना देख्न जरुरी छ,अनि त्यसलाई पुरा गर्ने हो,यो खुसीको क्षणमा समुदायको तर्फबाट हौसला प्रदान गरेकोमा धेरै धेरै धन्यवाद ।”

सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिनुभएका नवनियुक्त राजदुत तामाङले आफू राजनीति गर्ने चरित्रको नभएको बताउनुभयो । “वेरोजगार युवाहरुलाई आफैंले खर्चेर नेपालमा र बाहिर देशहरुमा पनि रोजगारी दिएको छु तर राजनीतिमा लाग्ने सोच थिएन ।”,सामान्य प्रशासन तथा जनसम्पर्क विषयमा राम्रो अध्ययन रहेका तामाङले थप्नुभयो–“चितवनका दाजुभाई दिदीबहिनीहरुले राजनीतिमा पनि अगाडी बढ्नुपर्छ भनेपछि २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाव लडें तर हारियो,सेवा गरेर राजनीति गर्न सकिदैन भन्ने महसुस गरियो,तैपनि हिम्मत हारिन,एमाले माओवादीको गठबन्धन हुदा २०७४ मा चुनावमा उठाउने पार्टीको तयारी नभएको हैन,विशेष कारण मैले त्याग गरें,माओवादी अध्यक्ष प्रचण्डज्युको पनि अन्य उचित स्थानको जिम्मेवारी दिने जुन प्रतिवद्धता थियो,आज त्यही प्रतिवद्धता अनुसार मेरो योग्यता क्षमता बुझेर यो जिम्मेवारी सरकारले दिएको छ,इमान्दारीताका साथ निर्वाह गर्न प्रतिवद्ध छु ।”

तामाङ डाजाङका अध्यक्ष फूलकुमार बमजनले राज्यले हेलाहोचोमा राखेका तामाङ समुदायका प्रतिभाहरुलाई बल्ल चिन्न थालेकोमा खुसी व्यक्त गर्दै नवनियुक्त राजदुत तामाङको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महत्वपुर्ण सार्वजनिक पदमा पुगेका ब्यक्तिहरुले तामाङ्ग समुदायको सांस्कृतिक पहिचान भुल्न नहुने धारणा व्यक्त गर्नुभयो ।

तामाङ पत्रकार संघ बागमती प्रदेश कार्य समितिका अध्यक्ष अर्जुन पाख्रीनले विगतमा नितिगत रुपमै शोषणमा पारिएका तामाङ समुदायबाट राज्यको महत्वपुर्ण पदमा नियुक्ति पाउनु गर्वको विषय रहेकोले आफूहरुले सम्झेको बताउनुभयो ।

उपाध्यक्ष ज्ञानेन्द्रबहादुर तामाङले राज्यसँग जोडिन अझै धेरै संघर्ष आवश्यक रहेकोमा जोड दिदैं यो खालको उपलबधीले पनि समुदायमा उत्साह जगाउने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै संघका बागमती प्रदेश कमिटि सचिव जगत तामाङले राज्यले गरेको विश्वासलाई नवनियुक्त राजदुत तामाङले अझ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तामाङ पत्रकार संघ काठमाडौं शाखाका अध्यक्ष सन्तोष योञ्जन,चलचित्र निर्देशक बिनय दोङ,याम्बु मिडिया प्रालिका अध्यक्ष शुक्र पाख्रिन लगायतले पनि नवनियुक्त राजदुत तामाङको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !