काठमाडौं–कला,साहित्य र रङ्गमञ्चमार्फत स्थानीय रैथाने संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको ‘जेसुम यात्रा’ यात्राको यो पटकको श्रींखला बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा सम्पन्न भएको छ । ‘देशभित्र घुमौं देश चिनौं’ भन्ने अभिप्राय जोडिएको अभियान अन्तर्गत यो पटक पनि हाइकिङकै क्रममा कविहरुले कविता र चित्रकारहरुले चित्रमार्फत चुनिखेललाई उजागर गरे ।

सिर्जना प्रस्तुतीकरण कार्यक्रममा कवि तथा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा,कवि तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,कविहरू श्याम संकल्प श्रेष्ठ,वासुदेव अधिकारी,स्नेह सायमी,लक्ष्मी माली,अजितमान तामाङ,सुरेश हाचेकाली,बीना थिङ,डा.हरि सिलवाल,उत्तम सिलवाल,राजु महत,त्रिविसा निरौला लगायतले चुनिखेलको नेवारी सभ्यता,संस्कृति,रहनसहन,पराम्परा,स्थानीय मठमन्दिर र धार्मिकस्थलका बारेमा रचना गरिएको कविता वाचन गर्नुभयो ।

त्यसैगरी कलाकारहरू एनबी गुरुङ,दीपेन्द्र बनेपाली,डिराम पाल्पाली,विनोदकुमार गुप्ता र डिबी राई,बाबाु साईला लगायतले चुनिखेललाई चित्रकलाका माध्यमबाट कोर्नुभएको थियो ।

साहित्यकार एवं कलाकारहरुले आफ्नो कृतिमा रैथाने मौलिक संस्कृति एवं सभ्यताको वकालत गर्नुभएको हो । यहाँको स्थानीय जीवनको पहिचान बुढानिलकण्ठकै पहिचान रहेकोमा उहाँहरुको जोड थियो ।

सोही अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले ऐतिहासिक स्थान चुनिखेलको इतिहास अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

अभियानका संयोजक तथा उपप्रमुख लामाले देशैभरिको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विगत चार वर्षदेखि ‘जेसुम यात्रा’ सुरु गरिएको जानकारी दिनुभयो । लामाले बूढानीलकण्ठ नगरपालिकाले जेसुम अभियानको आवाज बुझेको र त्यसलाई सम्बोधन गर्ने क्रममा रहेको जानकारी समेत दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले राससले पनि ‘जेसुम यात्रा’ अभियानले जस्तै विषयहको उठान गर्ने गरेको उल्लेख गर्दै यस खालको कार्यमा सञ्चार सहकार्य गर्न सदैव साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

बूढानीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष टिकेशनारायण श्रेष्ठले साहित्यकार,चित्रकार र सञ्चारकर्मीहरुको यसखालको सहयोगले आफूलाई निकै खुसी तुल्याएको बताउनुभयो । ‘जेसुम यात्रा’ अभियानले चुनिखेलको संस्कृति,सम्पदा र इतिहासका बारेमा प्रचारप्रसार गर्न सहज हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !