किन पुगे अचानक दिल्ली?

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय भ्रमण गर्दैछन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भाजपा मुख्यालय जाने नेपालका दोश्रो शीर्ष नेता हुनेछन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिलमा भारत भ्रमणमा जाँदा भाजपाको मुख्यालय पुगेका थिए। देउवा भाजपा मुख्यालय पुग्ने पहिलो शीर्ष नेपाली नेता थिए। प्रधानमन्त्रीको हैसियतमा भारत गए पनि देउवाले भाजपा मुख्यालय भ्रमण गरेका थिए।

माओवादी अध्यक्ष प्रचण्डलाई आइतबार भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ। नड्डा र प्रचण्डबीच भाजपा मुख्यालयमै विशेष कुराकानी पनि हुनेछ। नड्डाकै निम्तोमा प्रचण्ड दिल्ली गएका हुन्।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भाजपा र माओवादी केन्द्रबीच पार्टीगत सम्बन्ध विस्तारका लागि प्रचण्डको भ्रमण तय भएको बताएका छन। यसअघि भाजपासँग प्रचण्डको सामान्य अन्तक्र्रिया भएपनि पार्टीगत तहमा सम्बन्ध बनेको थिएन।

भारतीय जनता पार्टीले नेपाली कांग्रेस, माओवादी र एमालेसँग पनि पार्टीगत सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छ। भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले गतवर्ष दुई पटक यहाँ आएर कांग्रेस, एमाले र माओवादी नेतासँग भेटेका थिए। नेपालबाट कांग्रेसका नेताहरु गत असोजमा भाजपाको निम्तोमा दिल्ली गएका थिए।

नेपालमा प्रदेश र संघीय संसदको चुनाव आउनु केही महिनाअघि भएको प्रचण्डको दिल्ली यात्राको अनेक कोणबाट विश्लेषण भइरहेको छ। दिल्ली संस्थापनले अबको चुनावमा माओवादीले कुन पार्टीसँग सहकार्य गर्छ भन्ने विषयमा चासो राख्नसक्ने प्रचण्डनिकट माओवादीका एक नेताको अनुमान छ।

‘अहिलेसम्मको हाम्रो बटमलाइन कांग्रेससँगको गठबन्धन कायमै राखेर चुनावमा जाने भन्ने छ। अध्यक्षले भारतीय संस्थापनलाई त्यही बताउनुहुन्छ,’ उनले भने।

एमालेसँग चुनावमा गठबन्धन गर्नेबारे सार्थक कुरा नभएको उनले बताए।

नेपालका वामपन्थी शक्ति चुनावमा मिलेर नयाँ सरकार बनाए नेपालमा चिनियाँ प्रभाव बढ्ने भय भाजपा संस्थापनमा देखिन्छ। त्यही कारण प्रचण्डलाई दिल्ली बोलाएर उनको धारणा बुझ्न खोजेको हुनसक्ने अनुमान गरिएको छ। हालै नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियान्चाओले कम्युनिस्ट पार्टीहरु मिलेर गएको हेर्ने चाहना व्यक्त गरेका थिए। आन्तरिक मामिला भएकाले कम्युनिस्ट पार्टीहरुलाई मिलाउन चीनले हस्तक्षेप चाहिा नगर्ने उनले बताएका थिए।

अमेरिकाको बढ्दो प्रभाव र चीनको चासोबीच प्रचण्ड दिल्ली यात्रामा छन्। त्यसकारण उनको भ्रमण पार्टीगत सम्बन्ध विस्तारमा मात्रै सीमित रहने छैन भन्ने धेरैको अनुमान छ। देउवा सरकार बनेयता नेपालमा बढ्दो अमेरिकी सक्रियतालाई पनि नयाँ दिल्लीले नजिकबाट नियालिरहेको बताइन्छ। अमेरिकी सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्तर्गत प्रस्ताव गरेको सैन्य सम्झौता अघि बढाउने प्रधानमन्त्री देउवाको प्रयासबाट चीनजस्तै भारत पनि झस्केको बताइन्छ।

शुक्रबार अपरान्ह दिल्ली पुगेका प्रचण्डलाई विशेष सुरक्षा सतर्कता सहित दिल्लीको होटल ताजमा राखिएको छ। उनले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार बिहान प्रचण्डसँग भेट्दैछन्। अपराह्न भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट तय भएको छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतबार भेट्ने भनिए पनि समय निश्चित भइनसकेको बताइएको छ।

दिल्ली उड्नुअघि प्रचण्डले विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध विस्तारमा भ्रमण केन्द्रित हुने बताए। उनले आफ्नो दिल्ली भ्रमणलाई चिनियाँ नेताको भ्रमणसँग जोडेर नहेर्न आग्रह गरे।

‘मेरो भारत भ्रमण र चिनियाँ नेताको हालैको भ्रमणबीच सम्बन्ध छैन। किनकि मलाई भारतबाट भ्रमणको निम्तो आएको केही महिनाअघि नै हो,’ उनले भने।

प्रचण्डले आफूले चाँडै चीनको पनि भ्रमण गर्ने बताए।

सन्तोष घिमिरे from https://www.nepalkhabar.com/politics/137208-2022-7-15-22-30-48

प्रतिक्रिया दिनुहोस !