संरक्षक शेर बहादुर देउवाको सहभागितामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा सम्पन्न
काठमाडौं–प्रधानमन्त्री एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाले कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग रहेको बताउनुभएको छ । प्रतिष्ठानको १२ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै उहाँले देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकारहरुले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग रहेको प्रमाणित भएको धारणा व्यक्त गर्नुभएको हो ।
साथै देउवाले नेपाल जैविक र भौगोलिक विशिक्ष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक हो भन्नुभयो । उहाँले सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य सम्पदा रहेको जसलाई सङ्गीत नाट्य जस्ता प्रदर्शन कलाले चलायमान र उर्जावान बनाईरहने बताउनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्नु भयो ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र अडिटोरियम हल सहितको सुविधासम्पन्न भवनको डिपिआर समेत तयार भएको जानकारी गराउनुभयो ।
प्रज्ञाप्रतिष्ठानको सभा सदस्यहरु सम्मिलित बन्द सत्र सुरु भई वार्षिक आयव्यय लगायत प्रतिष्ठानको अबको कार्ययोजना सहितको एजेण्डामाथि छलफल भएको थियो । सभाको प्रधानमन्त्री देउवाद्धारा पानसमा दिप प्रज्वलन गरी प्राज्ञ सभाको उद्घाटन गरिएको थियो ।