काभ्रे–पाँचखाल नगरका स्थानीय प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्व विकासबारे ‘नेतृत्व मन्थन’ कार्यशाला आयोजना गरिएको छ ।
पाँचखाल नगरपालिका र किङ्ग्स कलेज, काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय विद्यालयहरुको शैक्षिक गुणस्तरीयताबारे विशेष मन्थन गरिएको हो ।
कार्यक्रममा पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै यसको लागि विद्यालयको नेतृत्वबीच सिकाइ आदानप्रदान गर्ने र नेतृत्वका विविध आयामबारे चिन्तन गर्ने मन्चको रूपमा कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । नगरप्रमुख खरेलले शिक्षामा समग्र परिवर्तनको लागि अबको ५ वर्षमा मूलतः प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउने तर्फ नगरपालिका उन्मुख भएको बताउनुभयो ।
कार्यशालामा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव डा. हरि लम्सालले प्रधानाध्यापकले आफूले आफूलाई स्तरोन्नति गर्ने उपायहरू सुझाउनुभयो । ‘नेतृत्व बन्छ कि बनाइन्छ’ भन्ने विषयमा सह सचिव लम्सालले प्रधानाध्यापकहरूले आफ्नो ज्ञान र सीप अभिवृद्धि गर्ने तथा सरोकारवालाहरूसँग सम्बन्ध विस्तार गर्ने उपायहरूवारे पनि प्रस्तुति दिनुभएको हो ।
‘माइ इमोसन्स म्याटर’ संस्थाकी सह–संस्थापक भावना श्रेष्ठले विद्यालयमा संवेगात्मक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका सम्बन्धी क्रियाकलाप सन्चालन गर्नुभयो । ‘विद्यालयमा मानव संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका’ शीर्षकमा जब्स डाइनामिक्सका निर्देशक प्रयास राजोपाध्यायले विभिन्न क्रियापलापको माध्यमबाट प्रधानाध्यापकहरूबीच छलफलको सहजीकरण गर्नुभयो । शिखरापुर सामुदायिक क्याम्पस, फर्पिङका प्रमुख तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम व्यवस्थापक निरोज श्रेष्ठले शिखरापुरले समुदायसँग जोडिन गरेका प्रयासहरू उदाहरणको रुपमा प्रस्तुत गर्नुभएको थियो ।
नगर क्षेत्रका सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरू सहभागि भएको कार्यशाला पश्चात पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले नेतृत्वका विषयमा आफुहरुलाई थप हौसला दिएको बताउनुभयो ।
किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले समुदाय र शैक्षिक संस्थाहरूले एक अर्काबाट सिक्नु अत्यन्त आवश्यक रहेको बताउँदै पाँचखाल नगरपालिकाबाट आफूले महत्वपूर्ण सिकाइ प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।