
हेटौँडा– बाल स्रष्टाहरूहरुलाई सम्मानका साथ मकवानपुरको हेटौँडामा हालै प्रथम राष्ट्रिय बाल साहित्य उत्सव–२०७९ समापन भएको छ । नेपालका सातै प्रदेशका दुुई सयभन्दा बढी नवसर्जक बालबालिकाहरू र विशिष्ट बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थितिमा नवसर्जक साहित्य चौतारी नेपालले उत्सवको आयोजना गरेको हो ।
उत्सवको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यतथा साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख डा. देवी नेपालले नव सर्जक साहित्य चौतारी नेपालले आफ्नो स्थापनाको दुुई वर्ष नहुँदै यस्तो राष्ट्रिय स्तरको ऐतिहासिक उत्सव सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले हामी बालबालिकाले गर्न सक्दैनन् भनेर अवसर दिँदैनौँ तर मौकापाउने हो भने नयाँ पुस्ताले केसम्म गर्न सक्ने रहेछ भन्ने कुराको उदाहरण यो उत्सव भएको विचार व्यक्त गर्नुभयो । साथै आजको पुस्ता सिर्जना, उत्साह, प्रविधि र व्यवस्थापन हरेक कुरामा उत्तिकै दक्ष भएको र उनीहरू प्रौढ पुस्ताभन्दा बढी नै संवेदनशील भएका कारण यो कार्यक्रम यति व्यवस्थित र सफल पनि भएको कुरामा जोड दिनुुभयो ।
कोरोनाको महामारीबाट विश्व आक्रान्त भएका बेलामा हेटौँडाका शिक्षक तथा युवा सर्जक दीपक गौतमले सिर्जनशील बालबालिकाहरूलाई भर्चुअल माध्यमबाट जोडेर सिर्जना कर्ममा लाग्ने प्रेरणा दिँदै सुरु गरेको यो संस्थाको कार्यक्रम उदाहरणीय रहेको कार्यक्रममा सहभागिहरुको भनाई थियो ।
उक्त अवसरमा नेपाली बालसाहित्यका विशिष्ट अन्वेषक तथा वरिष्ठ सर्जक प्रमोद प्रधानलाई रु. १५,५५५ नगद सहितको ‘लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान’ प्रदान गरिएको थियो भने सात प्रदेशका सात जना बाल स्रष्टाहरूलाई रु. ७,७७७ नगद सहितको प्रादेशिक प्रतिभा सम्मान प्रदान गरिएको थियो ।
उक्त सम्मान प्रदेश नं. एकबाट अन्वेषा चापागाईं (झापा),मधेस प्रदेशबाट अभिजित राम (बारा), बाग्मती प्रदेशबाट अनुज्ञा नेपाल (भक्तपुर),गण्डकी प्रदेशबाट अनुराग सापकोटा(कास्की),लुम्बिनी प्रदेशबाट पवन अधिकारी(कपिलवस्तुु),कर्णालीप्रदेशबाट नवीन पाण्डे(दैलेख) र सुदूूरपश्चिम प्रदेशबाट ऋस्टिना करिया प्रधान थारू(कैलाली)लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट सर्जक प्रमोद प्रधानले नेपाली बालसाहित्यको विगतदेखि वर्तमानसम्मको समीक्षा गर्दै अबको सिर्जनात्मक गन्तव्यका बारेमा नव सर्जकहरूलाई मार्गनिर्देश गर्नुभएको थियो भने सम्मानित सातै जना बालप्रतिभाहरूले आफ्नो सिर्जना यात्राका बारेमा प्रकाश पार्दै आआफ्ना रचना प्रस्तुत गर्नुुभएको थियो । संस्थाका संरक्षक दीपक गौतमले सम्मानित प्रतिभाहरूको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानका बारेमा प्रकाश पार्नुुभएको थियो ।
संस्थाकीअध्यक्ष प्रसन्ना चौलागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले संस्थाको परिचय र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कवितात्मक स्वागत मन्तव्य राख्नुुभएको थियो । प्रदेश संयोजकहरू रुबीगुप्ता (मधेस प्रदेश), उषाकिरण अधिकारी (बाग्मती प्रदेश), कृतिका लामिछाने (गण्डकी प्रदेश),जोसिका कँडेल निशा (लुम्बिनी प्रदेश), समीक्षा नेपाल (कर्णाली प्रदेश), प्रवीण चन्द(सुदूरपश्चिम प्रदेश) र प्रविना बराल (विदेश विभाग) ले संस्थाको प्रदेश समिति र विदेशका गतिविधिहरूका बारेमा जानकारी दिँदै आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।