बुचाकोट (नमोबुद्ध)–नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्नुभएको छ । नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत सञ्चालित महिलामैत्री असल कृषि अभ्यासको अबलोकन गर्दै उहाँले यसको प्रशंसा गर्नुभयो ।

नर्वेली राजदूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम स्थलमा आउनुभएका उपमन्त्री सान्कयोरले अर्गानिक कृषि प्रणालीबाट आफू एकदमै प्रभावित भएको बताउनुभयो ।

अर्गानिक कृषिका साथै महिलामैत्री थुवारहित चुल्हो, वायोग्यासको प्रयोग लगायतका कार्यबाट पनि आफू प्रभावित भएको भन्दै उहाँले नेपालस्थित नर्वेजियन राजदूताबासबाट निरन्तर समन्वय र सहयोग हुने प्रतिवद्धता पनि जनाउनुभयो ।

जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ । उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ ।

नर्वेली उपमन्त्री, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल, इसिमोडका महानिर्देशक पेमा ग्याम्सो लगायतले उक्त स्थानमा भइरहेको अर्गानिक कृषि कार्यक्रमको अबलोकन गर्नुका साथै यो कार्यक्रममा आवद्ध किसानहरुसँग अन्तरक्रियासमेत गर्नुभएको हो । अन्तरक्रियाको क्रममा किसानहरुले विगतमा सिञ्चाईको अभावमा खेती गर्न नसकिएको तर अहिले जलवायु अनुकुलन कार्यक्रम आएपछि कृषिबाटै आत्मनिर्भर बन्दै गइरहेको बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले कृषिबाट महिलाहरूको आर्थिक उत्थान गर्न सकिने भन्दै त्यसका लागि निरन्तर सहयोग गर्न नर्वेली सरकारलाई आग्रह गर्नुभयो । नमोबुद्ध नगरपालिकाले अर्गानिक कृषिको विकासका लागि गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । नमोबुद्ध नगरपालिकाको भ्रमणका लागि उहाँले नर्वेली उपमन्त्री, राजदूत लगायतप्रति आभार पनि प्रकट गर्नुभयो ।

यस्तै इसिमोडका महानिर्देशक पेमा ग्याम्सोले नमोबुद्ध नगरपालिकामा सञ्चालित यो कार्यक्रमबाट धेरै किसान लाभान्वित भएको भन्दै यसको प्रभावकारिताबाट आफू खुशी भएको बताउनुभयो । नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।

अबलोकन टोलीमा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नर्वेली दूतावासका सल्लाहकार कमला बिष्ट, सिप्रेडका कार्यकारी निर्देशक केशवदत्त जोशी, इसिमोडबाट शेखर घिमिरे, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष कविराज श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष रमेश तिवारी, नमोबुद्ध नगरपालिकाका शिक्षा शाखाका अधिकृत बुद्धिराज अर्याल, वातावरण अधिकृत सन्तोष काफ्ले, कृषि तथा पशुसेवा शाखा प्रमुख चिरञ्जिवी शर्मा, पूर्व वडाअध्यक्ष सञ्जीव ढकाल लगायत सहभागी हुुनुहुन्थ्यो ।

नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका विद्यार्थीसँग अन्तरक्रिया पनि गर्नुभयो । उक्त विद्यालयको भ्रमण गर्दै उहाँले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै कोभिड १९ को महामारीले पारेको प्रभावका बारेमा जिज्ञासा राख्नुभएको थियो । सो क्रममा विद्यार्थीहरुले अनलाइनमार्फत निरन्तर पढाई भएको बताउँदै इन्टरनेट र मोबाइलको समस्याका कारण कतिपय समयमा पढाईमा बाधा पुगेको पनि बताएका थिए ।

नर्वेली उपमन्त्री सान्कयोर, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल लगायत नर्वेजियन राजदूतावासका उच्च अधिकारीहरुले जनकल्याण माविमा सञ्चालित दिवा खाजा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमअन्तरगत विद्यालयमा सञ्चालन गरिएको क्लिनिक तथा विद्यालयका कक्षाकोठाको अबलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !