चलचित्र प्रदर्शन,सम्मान,सांस्कृतिक कार्यक्रम,शुभकामना आदानप्रदानसाथ १४ औं बार्षिक उत्सव मनाउने तयारी

काठमाडौं–आजको सूचना प्रविधिले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । प्रविधिले मानिसलाई अनेक पाटोसँग साक्षात्कार गराएकोले विश्व एउटा ग्राम जस्तै भएको त हो नै, विद्यमान सामाजिक नीति,मुल्य मान्यतालाई पनि चुनौती उत्तिकै दिएको छ । जसले विकराल समस्याहरु पनि निम्तिएको छ ।

यसै सन्दर्भमा सामाजिक सन्देश प्रधान लघु चलचित्र ‘सामाजिक सञ्जाल’ निर्माण भएको छ ।
काभ्रेको रोशी गाउँपालिकासँग सहकार्य गरी नेपाल तामाङ चलचित्र संघको संघीय समितिले यो चलचित्र निर्माण गरेको संघका अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभयो ।

यसअघिका चलचित्रहरुमा नायकको भुमिकामा देखिदै आउनुभएका मोक्तानले नै चलचित्र सामाजिक सञ्जालको निर्देशन गर्नुभएको हो । यो चलचित्र नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको उपलक्ष्यमा आगामी जेठ २८ गते शनिबार प्रदर्शन गरिने संघका महासचिव सुनिता लुङ्वाले जनाउनुभयो ।

संघको वार्षिक उत्सवको तयारी,चलचित्र सामाजिक सञ्जाल प्रदर्शनको तयारीका साथै वरिष्ठ कलाकार स्वर्गीय जयनन्द लामाको योगदानको सम्मानमा उहाँकै नाममा प्रदान गरिने सम्मान तथा अवार्डबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

चलचित्र बिकास बोर्डको हलमा जेठ २८ गते बिहान ११ बजे चलचित्र प्रदर्शन,कला क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान,सांस्कृतिक कार्यक्रम,शुभकामना आदानप्रदान गरी संघले आफ्नो वार्षिक उत्सव मनाउन लागेको अध्यक्ष मोक्तानले बताउनुभयो ।
उहाँका अनुसार रोशी गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको ४५ मिनेटको यो लघु चलचित्र निर्माणमा १० लाख ४ हजार रुपैयाँ खर्च भएको छ ।

चलचित्रमा इनटरनेटको माध्यमबाट सञ्चालित सामाजिक सञ्जालका विभिन्न पाटोहरुसँग सामाजिक जीवनका अवयवहरुसम्मको सम्बन्ध,प्रयोग र परिणामका साथै यसमा अपनाउन आवश्यक सचेतनाका विषय उधिनिएको चलचित्रका परिकल्पनाकार,कथा लेखक,समाजसेवी एवं रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डिबि मोक्तानको भनाई छ ।

बिक्रम मोक्तानले छायांकन गरेको चलचित्र मेखबहादुर थापाले सम्पादन गर्नुभएको हो । चलचित्रमा क्रेष्मा वाइबा,रश्मिला वाइबा,बिकास स्याङ्तान,मायादेवी मोक्तान,बिना घिसिङ,लावती रितु,गोकुल तामाङ,शेखर लामा,मनविर तामाङ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस !